फेसबुकमा लेखेको आरोपमा कञ्चनपुरका दुई जना पत्रकार पक्राउ

काठमाडौं– साईबर क्राईमको आरोपमा प्रहरीले कञ्चनपुरका दुई जना पत्रकारलाई पक्राउ गरेको छ। माउन्टेन टेलिभिजनमा कार्यरत भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्ट र आभाषकुञ्ज दैनिक पत्रिकामा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।

विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धि मुद्दामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेका कारण उनीहरु समातिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार, भट्टले फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको हो।

विद्युतीय कारोबारसम्बन्धी जाहेरीपछि प्रहरीले शुक्रबार भट्टविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। आफ्नै व्यवसायमा समेत सक्रिय रहेका भट्टले केही दिनअघि सामाजिक सञ्जालमा प्रहरी जवान नरेन्द्र नाथले राजीनामा दिँदै प्रहरी निरीक्षक बिनु शाहीलाई संगीन आरोप लगाएको भिडिओ सार्वजनिक गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बेला प्रहरी निरीक्षक शाहीले चरम यातना दिएको नाथको आरोप थियो। यद्यपि प्रहरीले थुनुवा कक्षमा कसैलाई यातना नदिएको दाबी गरेको थियो।

भिडिओ सार्वजनिक भएपछि भट्टले कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा र प्रहरी निरीक्षक शाहीविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। यसैबीच कञ्चनपुर प्रहरीले विज्ञप्ति जारी गरेर नाथको आरोपको खण्डन गर्दै भ्रमपूर्ण समाचार र स्टाटस नलेख्न चेतावनी दिएको थियो। त्यस्तो लेखेको पाएमा प्रचलित कानुनबमोजिम सजाय हुने प्रहरीको विज्ञप्तिमा उल्लेख थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट