‘रक्सी नखानू’ भनेर अर्ति दिन थालेपछि अगुल्टोले हानेर हजुरबुबाको हत्या, नाति पक्राउ

काठमाडौं– रूकुम पश्चिमको मुसिकोट नगरपालिका –१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या भएको छ। हजुरबुबाको हत्या आरोपमा उनकै नाति २३ वर्षीय डिल्लीराम खड्का पक्राउ परेका छन्।
शुक्रबार हस्तराम सडक छेउमा मृत फेला परेका थिए। बिहान करिव साढे ६ बजे जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणी तर्फ जाने बाटोमा उनको शव फेला परेको थियो। त्यसपछि अनुशन्धानमा खटिएको प्रहरीले चप्पलका आधारमा नाति डिल्लीरामलाई पक्राउ गरेको थियो।
उनले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेन्द्र खड्काले वताए। सोधपुछका क्रममा आफुले नै बाजे हस्तरामको हत्या गरेको उनले स्वीकार गरेका छन्।
प्रहरीका अनुसार बिहीबार राति गाउँलेहरु सामूहिक रूपमा आगो तापेर बसेका थिए। आगो तापेर सबै घर तर्फ लागेपछि हस्तरामले आफ्नो नातिलाई धेरै रक्सी नखान सम्झाउन थाले। त्यही विषयमा उनीहरुबीच भनाभन भएको र नातिले बाजेलाई धक्का दिएर लडाई दाउराले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
‘मदिराले मातेको नातिलाई सम्झाउन खोज्दा उनकै आक्रमणबाट बाजेको हत्या भएको खुलेको छ।’– इन्स्पेक्टर खड्काले भने। वाजेको अर्ति सुनेर आक्रोशित भएका डिल्लीरामले सुरुमा हस्तरामलाई धक्का दिएर लडाएको र बल्दै गरेको उगुल्टोले हानेर हत्या गरेको इन्स्पेक्टर खड्काले बताए।