दिदीको गलत सल्लाहले बच्चा चोरेर आमा बन्ने सोचमा पुगेकी थिईन मनकुमारी

काठमाडौं– काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी गर्ने २४ वर्षीया मनकुमारी सिंह आफनै दिदीको गलत सल्लाहले हौसिएको पत्ता लागेको छ। दिदी शारदा शाहीको योजनामा उनी अरूकै बच्चा लिएर आमा बन्ने सुरमा थिइन।

दिदीसँगकै सल्लाहमा उनले बच्चा चोरेर ल्याउने योजनाका साथ शुक्रबार हुलिया नै बदलेर प्रसूतिगृह पुगेको खुलेको छ। सोही योजनाअनुसार शुक्रबार उनी स्वास्थ्य परीक्षण गर्ने भन्दै अस्पताल गएको पनि खुलेको छ। त्यहीक्रममा ओपीडीमा पुगेकी उनले आमालाई छलेर बच्चा चोरेको अनुसन्धानबाट खुलेको छ।

बच्चा चोरेपछि बीचबाटोबाटै उनले श्रीमानलाई ‘मैले बच्चा पाएँ, लिन आउनू’ भनेर फोन गरेको तथा काँडाघारी स्थित कोठामा पुगेपछि वरपर चिनेजानेकालाई ‘म सुत्केरी भएँ’ भन्दै बच्चा देखाएको पाईएको छ। प्रहरीका अनुसार दैलेखको नौमुले गाउँपालिका–१, अबलतोली घर भएकी मनकुमारी र उनकी दिदी एउटै घरको वल्लो–पल्लो कोठामा बस्दै आएका छन।

दैलेखकै महाबु गाउँपालिका–६, रानीवन माईती भएकी मनकुमारीको ३ वर्षअघि मात्रै विवाह भएको थियो। उनका श्रीमान् २८ वर्षिय नरेन्द्र मल्ल पेसाले नेपाली सेना हुन। उनी काठमाडौंमै कार्यरत रहेको खुलेको छ। विवाह भए पनि उनीहरुका सन्तान छैनन। स्रोतका अनुसार मनकुमारीको गर्भमै २/३ पटक बच्चा खेर गएपछि उनी ‘तनाव’ मा थिइन।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो। परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन्। तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन्।

उनी बेलाबेलामा धामी–झाँक्रीसँग पनि झारफुकमा जाने गरेको पाइएको छ। ‘माता’ ले सन्तान हुने भन्दै औषधि पनि खान दिएको खुलेको छ। मनकुमारीले श्रीमानलाई पनि आफू गर्भवती भएको भनेर ढाँटेकी थिइन। तर, कुनै उपाय नलागेपछि अरूकै बच्चा चोरेर ‘आमा’ बन्ने ध्याउन्नमा उनी रहेको प्रहरीको अनुशन्धानले देखाएको छ।

११ फागुन (शुक्रबार) दिउँसो काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठकी २६ दिने छोरी चोरिएकी थिईन। १५ माघमा जन्मिएकी छोरीलाई जन्डिस र निमोनियाँको लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

जेठाजु मनोज श्रेष्ठ र जेठानी दिदी अस्मितासहित सविना छोरीलाई लिएर अस्पताल पुगेकी थिइन। सविनाका श्रीमान् पुजन घरमै थिए। पुजनका दाजु मनोज पेसाले ट्याक्सी चालक हुन। नवजात शिशुसहित तीनै जनालाई आफ्नै ट्याक्सीमा अस्पताल पु¥याएर मनोज काममा फर्किए। शिशुको ओपीडी कक्षमा स्वास्थ्य परीक्षण भयो। सविना र अस्मिता स्वास्थ्य परीक्षण रिपोर्ट कुरेर बसिरहेका थिए। अस्मिता एक्सरे रिपोर्ट लिन गइन।

त्यही क्रममा सविना र अपरिचित मनकुमारीबीच भेट भएको थियो। छोरीले दिसा गरेपछि सविनालाई ‘डाइपर’ फाल्नु पर्ने झन्झट आईलाग्यो। त्यही वेला मनकुमारीले ‘म हेरिदिन्छु, तपाईं गएर आउनुस’ भनिन् र बच्चा लिएर फरार भईन।

सविना फर्किंदा छोरी र मनकुमारी दुवै नभएपछि खोजतलास सुरु भयो। कुरा प्रहरीसम्म पुग्यो। प्रहरी बच्चा खोजतलास गर्दै महिलाको कोठासम्म पुग्यो। कोठामा उनी सुत्केरीकै भेषमा थिईन। काखमा बच्चालाई दूध खुवाएको जस्तो देखिन्थ्यो। उनले सुरुमा ‘मैले बच्चा जंगलमा भेटेर ल्याएको हो’ भन्दै उम्किने प्रयास गरेकी थिइन। तर, प्रहरीले अस्पतालदेखि काँडाघारीसम्मको सीसीटीभी फुटेज देखाएपछि भने बच्चा चोरेको स्विकारेकी थिइन।

शिशुको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। चोरीमा संलग्न उनी र दिदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पनि ‘अस्वस्थ’ भएको भन्दै उपचारका लागि काठमाडौंको एक अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट