४ वर्षसम्म कैद गर्न माग गर्दै कृष्ण कँडेल विरुद्ध दर्ता भयो बलात्कार उद्योगको मुद्धा

काठमाडौँ– इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। लोकगायक समेत रहेका कँडेल विरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन्।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। आफूलाई पटकपटक करणीको प्रयास गरिएको र महिलाकै कोठामासमेत पुगेर करणीको प्रयास भएको उनको आरोप छ।

ती महिलाले कँडेललाई हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी छिन्। मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कँडेललाई कारबाहीका लागि फिराद दर्ता भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बन्धी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ। त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ। यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। पीडित महिलाले ऐनका यी दफाहरुमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउन माग गरेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट