पूर्वयुवराज पारस फेरी विवादमा, के हो चितवनको पेस्तोल काण्ड ?

चितवन– पूर्वयुवराज पारस फेरी विवादमा परेका छन्। चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको विद्यार्थी ओसार्ने बसका चालकलाई लक्षित गरी पेस्तोल ताकेको आरोपले उनी विवादमा तानिएका हुन।

स्कूलको बस गत बुधबार विद्यार्थी बोकेर भरतपुर– ८, गौरीगञ्ज सल्यनी रुटमा गएको थियो। विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रंगको कार गाडी रोकियो। कारले २/३ पटक हर्न बजायो। स्कुल बस घुमाउन केही समय लाग्यो। त्यही वेला कालो कारबाट अ एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए।

उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ। पेस्तोल ताक्ने ब्यक्ति पारस शाह नै भएको उनीहरुको दावी छ। सोही विद्यालयका अभिभावक एवम नेपाल क्रिकेट संघ (क्यान) का बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमै उक्त घट्ना सार्वजनिक गरेका छन्।

उनले घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन्। ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु’ उनले लेखेका छन्–‘केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ। सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ। उनीहरू सबै बोल्न डराइरहेका छन्। प्रहरीले घटनाको अनुसन्धान गर्दैछ भनेर पन्छिएका छन्।’

यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले भने संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने एकिन नभएको जनाएका छन्। उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताए। चितवन प्रहरीले भने पूर्वराजपरिवारका सदस्यको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। डिएसपी श्रीराम भण्डारीले आफुले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार गत साता ११ दिन चितवनमा ‘भ्याकेसन’ मनाएर शुक्रबार (११ फागुन) फर्किएको थियो। पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवससमेत चितवनमै मनाईएको थियो। पूर्वराजापरिवारको भ्रमण टोलीमा पारससमेत सहभागी रहेको अनुमान छ। यद्यपि, आमाको जन्मोत्सवका तस्बिरमा उनी देखिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट