निषेधित क्षेत्र तोड्न माईतीघर पुगेका राजेन्द्र महतोलाई प्रहरीको लछारपछार

काठमाडौं– माईतीघरको निषेधित क्षेत्र तोड्न दलबलसहित पुगेका नेता राजेन्द्र महतोको प्रहरीसँग घम्साघम्सी परेको छ। त्यसक्रममा नेता महतोलाई प्रहरीले लछार पछार गरेको छ।

लोसपा छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता महतोसहितको टोली सिंहदरबारको मूल गेटअगाडि पुगेको थियो। प्रहरीले उनीहरुलाई भद्रकाली मन्दिर परिसरमा रोकेको थियो।

त्यसपछि प्रदर्शनकारीहरुले ‘निषेधित क्षेत्र खुला गर्, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर्, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर्, राष्ट्रिय मुक्ति क्रान्ती, हामीलाई रोक्ने तिमी को हो? गृहमन्त्री राजीनामा दे’ लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरे।

सोही क्रममा महतोसहितका नेता–कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको हो। त्यसक्रममा केही घाइते भएका छन्। १६ फागुन ०६४ मा तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए।

अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित अघि बढेको महतो नेतृत्वको टोलीलाई छेक्न सुरक्षाकर्मी व्यापक परिचालन गरिएको थियो। ¥यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए।

लोसपाको वरिष्ठ नेता रहेका महतोले गत १४ फागुनमा पार्टी त्याग गरेका हुन्। उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट