प्रचण्डले बिनालाई काखी च्याप्दा किनारामा पुगे खगराज, माओवादी छोडेर एमालेमा जाने चर्चा

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुहारी बिना मगरलाई काखी च्यापेर नेता÷कार्यकर्तालाई अन्याय गर्दा सुदूरपश्चिम प्रदेशमा पार्टीभित्र लामो समयदेखि विवाद चल्दै आएको छ। विनालाई प्रतिनिधि सभाको उम्मेदवार वनाउनेदेखि मन्त्री बनाउनेसम्मका दाहालका हरेक कार्य विवादसहित हुन सकेनन्।

यही प्रवृत्तिको निरन्तरताले पछिल्लो समय पार्टीको विवाद उत्कर्षमा छन्। स्थायी समिति सदस्य खगराजबाट सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी खोस्ने र बिनालाई सह–इन्चार्ज बनाउने निर्णयले माओवादी सुदूरपश्चिममा खैलावैला छ। खगराजले यो प्रकरणलाई आफ्नो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन भनेका छन्।

उपमहासचिव जनार्दन शर्माले दाहालकै संलग्नतामा खगराजलाई विस्थापित गरेर बिनालाई स्थापित गर्न खोजिएको भन्दै आपत्ति जनाइसकेका छन् भने खगराजले दाहाललाई असहमति पत्र लेखिसकेका छन्।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक्ला स्थायी समिति सदस्य भट्टलाई पार्टीमा किनाराकृत गरिएपछि सुदूरपश्चिममा उनीनिकट नेता कार्यकर्ता असन्तुष्ट छन्। १२ माघमा भट्टलाई बहुमत सांसदले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट पनि हटाएर दार्चुलाका सांसद मानबहादुर धामीलाई नेता चयन गरेका थिए।

यो प्रकरणले नेता/कार्यकर्ता तरंगित हुन स्वभाविकै हो। विवादको यो तरंगमा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले ढुंगा हान्ने काम गरेका छन्। उनले विवादको मुख्य समस्या आत्मकेन्द्रित व्यक्तिवाद रहेको बताएपछि भट्ट पत्नी मन्जु बम फायर भएकी छन्।

मालको पोष्टमा कमेन्ट गर्दै बमले २० वर्षसम्म घर बसेकी स्वास्नीलाई एक नम्बर सामानुपातिक उम्मेदवार बनाएर सांसद बनाएको आरोप लगाएकी छन्। माल पत्नी गितादेवी माल सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।

त्यसैलाई लक्षित गर्दै वमले लेखेकी छिन्– ‘मैले टिकट पाएन भने विस वर्षसम्म घर बसेकी स्वास्नीलाई एक नम्बर सामानुपातिक राख्नु पर्छ भनेर नेतृत्वलाई दवाव दिने तपाई त हो। त्यहीबाट चरम आत्मकेन्द्रित व्यक्तिवाद सुरु भएको आम कार्यकर्ता लाई थाहा छैन र ? के ठुला कुरा गछौं ?’

भट्टलाई दलको नेताबाट हटाएर धामीलाई दलको नेता बनाउन गितादेवीले पनि हस्ताक्षर गरेकी थिइन्। यसरी पार्टी नेतामा विवाद वढ्दै जाँदा खगराजले पार्टी छोड्न सक्नेसम्मको चर्चा भइरहेको छ। अहिले भट्टको एकशुत्रीय माग संसदीय दलको नेतामा पुर्नवहाली हो। उनले त्यसको लागि केही समय पर्खिने र पुनर्बहाली नभए पार्टीमा नरहने उनको योजना रहेको जनाईएको छ।

१९ माघमा खगराजसहित सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र विनासमेतले भेटेर संसदीय दलको नेतामा भट्टलाई पुर्नवहाली गर्नु पर्ने दाहाललाई बताएका थिए। त्यस क्रममा दाहालले भट्टलाई अन्याय हुन नदिने बताएका थिए। तर, स्थायी समिति बैठकमै दाहालले मानबहादुर धामीलाई संसदीय दलको नेतामा वैधानिकता दिनुपर्ने बताएपछि भट्टको मन थप कुँडिएको हो।

डा. बाबुराम भट्टराई माओवादीमा हुँदा खगराज उनीनिकट थिए। लेखराज माओवादीमा हुँदा दाहाल निकट भएर खगराजलाई चेपुवामा पारेका थिए। अहिले माओवादीमा उनी जनार्दन शर्मानिकट मानिन्छन्। उनलाई संसदीय दलको नेताबाट हटाउँदा भने दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनको गुट एकै ठाउँ देखियो। जनार्दन निककै अक्कल रावलले पनि उनलाई साथ दिएनन्।

यसरी, माओवादीभित्र किनाराकृत गरिन थालेपछि उनलाई एमालेका शीर्ष नेताहरूले सम्पर्क गर्न थालेका थिए। नेकपा हुँदा भट्ट एमाले शीर्ष नेतासँग पनि निकट थिए। ती नेताले पनि भट्टको इमानदारिता र क्षमताको कदर गर्ने भन्दै पार्टीमा आउन आग्रह गरेको बताइएको छ। तर उनीनिकट नेताहरु भने अहिले नै त्यस्तो निष्कर्षमा नपुगेको बताउँछन्।

आन्तरिक संघर्ष भएकाले खगराजले पार्टी परित्याग गर्ने निर्णय नलिने माओवादी सुदूरपश्चिम कतिपय नेताहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट