१३ वर्षीया बालिका बलात्कार कसुरमा ६९ वर्षका दिलबहादुरलाई १२ वर्ष कैद

विराटनगर– इलाममा १३ वर्षिया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने एक ब्यक्तिलाई अदालतले १२ वर्षको कैद ससाज सुनाएको छ।
इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई यस्तो सजाय सुनाएको हो। बालिका बलात्कार गरेको आरोप लागेका दिलबहादुरलाई ५ लाख जरिवाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने पनि फैसलामा उल्लेख छ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो। दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै जाहेरी परेको थियो। १६ वैशाख ०७९ र २९ जेठमा परेको बेग्लाबेग्लै जाहेरीपछि २९ असारमा इलाम जिल्ला अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएको थियो।
परिक्षणका क्रममा बालिकाको गर्भमा बच्चा भएको पुष्टि भएपछि गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) परिक्षण गराईएको थियो। विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सवैकुरा दिलवहादुरसँग मिलेपछि मुद्दा अगाडि वढेको थियो।
प्रहरीले सरकारी वकिल कार्यालय मार्फत २९ साउन ०७९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता गरेको थियो।