बस दुर्घटनापछि त्रिशुलीमा बेपत्ता कांग्रेस नेता पाठकको पनि शव भेटियो

काठमाडौं– धादिङको गजुरीस्थित त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका नेपाली कांग्रेसका युवा नेता प्रकाश पाठकको पनि शव फेला परेको छ। पाठकको शव बिहीबार दिउँसो पौने ४ बजे सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसको पुष्टि गरेका छन्। उनले पाठकको विषयमा सुनेको खबरले आफू स्तब्ध भएको जनाएका छन्। उनको शव घटनास्थलभन्दा ७ किलोमिटर तल नदीमा फेला परेको थियो।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य, तथा नेपाल रिक्सा चालक संघका पूर्व केन्द्रीय अध्यक्ष पाठकको स्थायी घर बुटवलको दिपनगर हो। लामो समयदेखि सहकारी अभियानमा लागेका उनी पछिल्लो समय काठमाण्डौमा बस्न थालेका थिए। श्रीमतिले काठमाडौंमा कलेज पठाउने, ११ वर्षको छोरा र आमासहित उनी काठमाण्डौमा बस्न थालेका हुन्।

रुपन्देहीको लुम्बिनीबाट काठमाडौं जाँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान पौने ५ बजे दुर्घटनामा परेको थियो। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा सडकबाट त्रिशुली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो।

प्रहरी र स्थानीयले ४० जनाभन्दा बढी घाइतेको उद्दार गरेका थिए। तर, तीन जना यात्रु भने वेपत्ता भएका थिए। जसमा प्रकाश पाठकसहित बुटवलकै नर्मदा सुवेदी, विराज गैरे हराइरहेका थिए।

हराइरहेका मध्ये एक पुरुष र एक महिलाको शव दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशुली नदीमा दिउसो फेला परेको थियो। उक्त शव बिराज र नर्मदाको हुनसक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट