सरकार र राष्ट्रपतिलाई पनि रिझाएर जेलमुक्त भएका रेशम चौधरी श्रीमतीसँग कायल

काठमाडौं– हत्या आरोपममा तीनै तहका अदालतले कसुरदार ठहर गरेपनि सरकार र राष्ट्रपतिलाई रिझाएर जेलमुक्त हुन सफल भएका नागरिक उन्मुक्ति पार्टीका हुन नसकेका अध्यक्ष (निर्वाचन आयोगले मान्यता नदिएको) रेशमलाल चौधरी आफनै श्रीमतीसँग कायल भएका छन्।

चौधरीले पत्नी रन्जिता श्रेष्ठसँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पार्दै ‘आफुले सन्जितासँग नसकेको’ आसयमा स्ट्याटस लेखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने÷नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ।

यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको उनले लेखेका छन्। ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्’ चौधरीले लेखेका छन्–‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’

रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलकी नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन्।

सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री कांग्रेस नेतृत्वको सरकारमा नियुक्त भएका छन्। सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ। उनले मन्त्रिहरुलाई फिर्ता हुन निर्देशन समेत दिएकी थिईन।

यो विवाद वढ्दै गएपछि चौधरीले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भनेका छन्। पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको उनको भनाइ छ। आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन्। ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’ उनले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट