गोरखनाथ मन्दिरको जंगलमा मृत भेटिएकी सुस्मिताको ‘सुसाईड नोट’ भेटियो
काठमाडौँ– काठमाडौँको पशुपति क्षेत्र नजिकै गोरखनाथ मन्दिरमाथिको जंगलमा मृत भेटिएकी १९ वर्षीया सुस्मिता थापाको ‘सुसाइड नोट’ फेला परेको छ। प्रहरीले सुसाइड नोट फेला परेको पुष्टि गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।
गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले त्यसमा के लेखिएको छ भन्ने कुरा भने खुलाएनन्। सुसाइड नोट उनैले लेखेको हो÷होइन भन्ने विषयमा पनि अनुसन्धान भईरहेको उनको भनाई छ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा डेरा गरेर बस्दै आएकी सुस्मिता शुक्रबार गोरखनाथ मन्दिरनजिकै जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन। उनी कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन्।
कोठाबाट कलेज जान्छु भनेर हिँडेकी उनी २ दिनपछि झुन्डिएको अवस्थामा मृत भेटिएकी थिईन। शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।
घटना अनुसन्धानका क्रममा अहिलेसम्म कोही पक्राउ नपरेको डीएसपी थेवेले बताए।