सप्तरीमा गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीले दर्ता गर्यो डाका मुद्दामा उजुरी

राजविराज– भ्रष्टाचारका प्रमाण मेटाउन मोवाईल लुटेको आरोप लागेका सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहित चारजनाविरुद्ध चोरी–डाँकासम्बन्धी कसुरमा प्रहरीले जाहेरी दर्ता गरेको छ।

अध्यक्ष यादवसहित राम यादव, पीताम्बर यादव र सरोज यादवविरुद्ध जाहेरी दर्ता भएको हो। पीताम्बर निवर्तमान वडाध्यक्ष हुन्। उनीहरुले गत २६ असारमा आफुलाई हातपात गर्दै २५ हजार रुपैयाँ पर्ने मोबाइल लुटेको भन्दै रुपनी गाउँपालिका १ का स्थानीय किरणकुमार जयसवालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए। तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिए।

त्यसपछि उनले उजुरी दर्ताका लागि परमादेशको माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दर्ता गरेका थिए। सोही मुद्दामा सुनुवाई गर्दै उच्च अदालतले उजुरी दर्ता गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको २२ मंसिरको इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीको नाममा परमादेशको आदेश गर्दै उजुरी दर्ता गरी छानबिन गर्न भनेको थियो। सप्तरी प्रहरीका एसपी गजुसिद्धि बज्राचार्यले परमादेशसँगै उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए।

जसयवालले लुटुलिएको आफनो मोवाईलमा अध्यक्ष यादवले ‘कमिसन लिएको प्रमाण रहेको’ दाबी गरेका छन। सोही विषय जानकारी पाएपछि यादवसहित चारजनाले हातपात गर्दै मोबाइल लुटेको उनको आरोप छ।

अदालतमा दायर मुद्दामा भनिएको छ– ‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटकपटक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै आएको, २३ असार रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर २४ गते हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाइल चोरी–डाँका गरेको।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट