उद्वारका लागि सीमा क्षेत्रमा परिचालित संस्थाका कर्मचारीकै मिलेमतोमा नेपाली चेली बेचिएको खुलासा

काठमाडौं– भारतमा बेचिने चेलीहरुको उद्दार गर्न नेपाल–भारतको सीमा क्षेत्रमा काम गर्दै आएका संस्थाका कर्मचारीकै मिलेमतोमा नेपाली चेली भारतीय यौन र श्रम बजारमा वेचिने गरेको रहस्य खुलेको छ।

नेपाल प्रहरीको समन्वयमा भारतको दिल्लीस्थित केआईएनले आईतबार विभिन्न जिल्लाका ५ जना नेपाली किशोरीको उद्वार गरि रुपन्देही प्रशासनको जिम्मा लगाएपछि यस्तो रहस्य खुलेको हो।

आइतबार उद्दार भएका ५ किशोरी मध्ये रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २, धनुषाका २ र पर्साका १ जना छन्। प्रशासनले दिएको जानकारी अनुसार उनीहरु १५ देखि १८ वर्षका छन्।

रुपन्देहीका सीडीओ गणेश अर्यालका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ किशोरी गत फागुन २ गते राती लुम्बिनीस्थित कक्रहवा नाकाबाट भारत पुगेका थिए। उनीहरुलाई भारतीय नागरिकले जागिर लगाइदिने बहानामा त्यहाँ पुर्याएको पाईएको छ। तर, गलत काममा लगाउन थालेपछि उनीहरु भागेर प्रहरी समक्ष पुगेका थिए।

१८ वर्षीय मुस्लिम समुदायकी किशोरीले घर परिवारमा मायाँ नपाएपछि पैसा कमाउने लोभमा भारत पुगेको पाईएकी छिन्। ‘बुवा विदेशमा हुनुहुन्छ, आमाले मलाई बोर्डिङ पढ्न दिनुभएन। त्यसैले भाग्ने निर्णय गरे।’ कक्रहवा नाकामा रहेका संस्थाका कर्मचारीकै सहयोगमा आफू भारत गएको र भारत पुगेपछि मात्रै आफु गलत ठाउँमा आईपुगेको महशुस भएको उनले वताईन।

‘हामी राती १ बजे कक्रहवा नाका पुग्यौं। भारतमा घर छ भनेर प्रहरीलाई ढाँट्यौं। तर भारतीय प्रहरीले जान नदिएपछि ती संस्थाका कर्मचारीकै घरमा बस्यौं। पछि ती कर्मचारीले अर्कै ठाउँबाट जाने बाटो देखाइदिएपछि हामी भारत पुगेका हौं।– उनले प्रहरीसँग भनेकी छिन्।

धनुषाका दुई किशोरीलाई गाउँकै व्यक्तिले जागिर लगाइदिने भन्दै विहार पु¥याएका थिए। ति मध्येकी एकलाई विवाहको नाटक गरी उता लगिएको थियो। पर्साकी युवतीलाई गाउँकै एक व्यक्तिले विवाह गरेरै भारत लगेर छोडिदिएका थिए।

धनुषाकी १६ वर्षीय किशोरीले भारत पुगेपछि विवाह गरेका युवकले अलपत्र छाडेर गलत काममा लगाएको बताएकी छिन्। उनी भन्छिन्–‘विवाह गरेर लैजाने व्यक्ति उता गएपछि कहाँ गयो पत्तो भएन।’

ती किशोरीहरुले नेपालकै बोर्डरमा भारतीय प्रहरीले रोकेर फर्काउँदा पनि नेपालतर्फ बसेका संस्थाका कर्मचारीले चोर बाटोबाट आफूहरुलाई भारत जान सघाएको बताएका छन्। प्रशासनले ती संस्थाको नाम भने गोप्य राखेको छ। थप अनुसन्धान गर्नका लागि तत्काल उनीहरुको नाम सार्वजनिक नगरिएको स्थानीय प्रशासनको भनाई छ।

‘उद्दार भएका किशोरीको भनाइमा ती संस्थाका कर्मचारीको भूमिका प्रष्ट देखिएको छ, हामीले थप अनुसन्धान गर्दैछौं’ सीडीओ अर्यालले भने– ‘सबै संस्थाका कागजपत्र मगाएर तत्काल अनुसन्धान गर्न निर्देशन दिएको छु।’

पाँचैजना किशोरी अहिले जिल्ला प्रहरी कार्यालयको संरक्षणमा छन्। परिवारलाई सम्पर्क गरी उनीहरुलाई जिम्मा लगाईने सीडीओ अर्यालले बताए।

जानकारहरुका अनुसार नेपाली चेलीहरुलाई भारत पर्याएर दिल्लीको ५५, ५९ र ६३ नम्बरको नाम चलेको कोठीमा राखेर गलत काममा प्रयोग गर्ने गरिएको छ। सिधै कोठीमा जान कोही पनि तयार नहुने भएकाले लैजाने तरिका फेरिएर अनेक योजना बनाएर दलालहरुले फसाइरहेको केआईएन भारतका नेपाल संयोजक इन्द्रराज भट्टराई बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट