सरकारी तलवले जग्गा किन्न नपुगेपछि प्रहरी हवल्दारकै योजनामा ७ लाख लुटपाट

काठमाडौं– डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३८ वर्षीय चक्रबहादुर शाही पेशाले नेपाल प्रहरीका हवल्दार हुन। प्रहरी वृत्त बानेश्वरमा कार्यरत उनी धनगढीमा जग्गा किन्ने योजनामा थिए। तर, सवैतिरबाट जोरजाम गर्दा पनि जग्गा किन्न ५ लाख रुपैयाँ अपुग भयो।

त्यसपछि उनको दिमागमा एकै पटक सैतानको योजना आयो। उनी रातारात लाखौं रुपैयाँ कमाउने योजना लागे। उनले रातोपुलकै वेलकम क्याबिन रेष्टुरेन्टका सञ्चालक ३१ वर्षीय विकास लुइँटेललाई आफनो योजना सुनाए। योजना थियो– लुटपाटको। यस्तो खुरापाती योजनामा पनि लुईटेल सहमत भए।

त्यसपछि योजना पुरा गर्न सुमन तामाङ र विकाश बमलाई पनि टिममा जोडियो। त्यसपछि सुरु भयो उपर्युक्त मान्छेको खोजी। यता, प्रमोद श्रेष्ठ नेपाली रुपैयाँलाई डलरमा साट्न माद्यम खोजिरहेका थिए। पोर्चुगलबाट नेपाल आउन लागेका साथीलाई दुईवटा म्याकबुक ल्याइदिन आग्रह गरेका प्रमोदले त्यसबापत ७ लाख १५ हजार रुपैयाँ पठाउनु पर्ने थियो।

साथीले अमेरिकी डलरमा साटेर खातामा पैसा जम्मा गर्नू भनेपछि उनले अनलाईन तथा फेसवुकमा डलर साट्ने माध्यम खोजतलास गरे। खोजी गर्ने क्रममा सुमन तामाङ नामको फेसबुकमा डलर सटहीका लागि सम्पर्क गर्न भनिएको पोस्ट भेटे। उनले फोन गर्दा तामाङले उठाए।

प्रमोदसँग भएको कुराकानी तामाङले शाही, लुइँटेल र बमलाई जानकारी गराए। त्यसपछि उनीहरुले लुटपाटको योजना वनाएर प्रमोदलाई नगद लिएर रातोपुलस्थित एक क्याबिन रेस्टुरेन्टमा बोलाए।

योजना अनुसार डलर साट्न पैसा निकालेपछि हवल्दार शाहीसहितको टोली होटलमा पुग्यो र ‘म सीआईबीको मान्छे हो’ भन्दै प्रमोदलाई थर्कायो। अवैध रुपमा डलरको कारोवार गरेको आरोपमा प्रमोदलाई हत्कडी पनि लगायो। दिनभर होटलमै राखेर टर्चर गरेपछि पैसा लुटपाट गरी ‘कतै जानकारी गराए राम्रो हुँदैन’ भन्दै छोडिएको थियो।

प्रमोदले यो कुरा प्रहरी वृत्त गौशालामा जानकारी गराए। तर गौशालाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन जान भन्यो। उनले ६ चैतमा अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिए। त्यसै दिन होटल सञ्चालक लुइँटेल पक्राउ परे। उनकै बयानका आधारमा हवल्दार शाही पनि पक्राउ परेका हुन।

जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घट्नाको अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा चोरीको कसुरमा मुद्दासमेत दायर गरेको छ। न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको बयान भइरहेको छ।

शाहीले जग्गा किन्न रकम अपुग भएपछि सापटी लिएको इन्कारी बयान दिएका छन्। ‘धनगढीमा जग्गा किन्ने योजना बनाएको थिएँ। त्यसका लागि ५ लाख रकम अपुग भएको भन्दै विकास बम भन्ने व्यक्तिसँग सापटी मागेको हुँ’ शाहीले भनेका छन्–‘विकासले ५ चैतमा भरत भन्ने व्यक्ति पैसा लिएर विकास लुइँटेलको वेलकम क्याबिन रेष्टुरेन्टमा बसेका छन्। त्यहाँ गएर समन्वय गरी चार लाख रुपैयाँ लिनु भनेकाले मैले लिएको हो।’

रकम सापटी मागेको बताए पनि उनै हवल्दारले प्रमोद श्रेष्ठ नाम गरेका व्यक्तिलाई हत्कडी लगाएर डेढ घण्टासम्म थुनेर लुटपाट गरेको खुलेको छ। लुटपाटको मुख्य योजनाकार उनै शाही भएको समेत खुलेको छ।

प्रहरीका अनुसार लुटपाटको योजना प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमै बनेको खुलेको छ। विकास बम र होटल सञ्चालक विकास लुइँटेलबीच केही समय अगाडि झगडा परेको थियो। सोही क्रममा हिरासतमा पुगेका उनीहरुको चिनजान हवल्दार शाहीसँग हुन्छ।

शाहीले नै समन्वय गरेर उनीहरुको मिलापत्र गराई हिरासतमुक्त गराएका थिए। त्यसपछि उनीहरु दुस्मनबाट साथी भए। त्यसपछि तीनै जनाको योजनामा ५ चैतमा प्रमोद श्रेष्ठलाई लुइँटेलको होटलमा बोलाएर लुटपाट गरिएको खुलेको छ। प्रमोदको साथमा भएको मध्ये ७ लाख ५ हजार लुटपाट गरिएको थियो। बाँकी रहेको १० हजार भने घर जना गाडीभाडा भन्दै लुटेराहरुले प्रमोदलाई दिएका थिए।

पक्राउ परेपछि लुटपाट भएकोमध्ये १ लाख ८२ हजार रुपैयाँ होटल सञ्चालक लुइँटेलबाट बरामद भएको थियो भने हवल्दारबाट ४ लाख रुपैयाँ बरामद भएको थियो। बाँकी रकम भने हाल फरार भएका बमले लिएर फरार भएका थिए। तामाङ र वम अहिलेसम्म पक्राउ परेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट