पुजारी हत्या काण्डका योजनाकार तथा प्रहरीको मस्ट वान्टेड अपराधी शेख नुरुल्लाह पक्राउ

रौतहट– रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको घट्नामा संलग्न शेख नुरुल्लाहलाई प्रहरीले झण्डै ४ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात अपराधी भनिएका देवाही गोनाही नगरपालिका–१ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहलाई प्रहरीले आईतवार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी एलिजा गिरीका अनुसार नुरुल्लाह भारततर्फ जाने क्रममा राजदेवी नगरपालिका–८ लक्ष्मीपुर बेलविछवा चोक नजिकैबाट पक्राउ परेका हुन। ३ भदौ ०७७ को राति ९ बजे भएको पुजारी श्रीराम साहको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दावी छ। खाना खाइरहेकै अवस्थामा साहको गोली हानी हत्या भएको थियो।

नुरुल्लाहसहित सात जना व्यक्तिहरू मिलेर पुजारीको हत्या गराएको प्रहरीको अनुसन्धानमा देखिएको थियो। प्रहरीले नुरुल्लाहसहित सात जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

यसैगरी, ११ जेठ ०८० को मध्य राति साढे १२ बजे देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँका ७८ वर्षीय शेख तैयवको हत्यामा पनि उनको संलग्नता देखिएको छ। नुरुल्लाहकै आदेशमा शेख शेखराज, शेख सद्दाम भनिने खलिउल्लाह र भारतीय नागरिक राकेश कुमारले शैख तैयवको गोली हानी हत्या गरेका थिए।

तत्कालै प्रहरीले शेख शेखराज र भारतीय नागरिक राकेश कुमारलाई नियन्त्रणमा लियो। दुवै कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन्। मुख्य योजनाकार भनिएका नुरुल्लाह र निजको भाइ खलिउल्लाह भने फरार थिए।

फरार दुवै विरुद्ध गत १६ पुसमा जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो।

पटकपटक अपराध गर्दै भाग्दै गरेका नुरुल्लाह २२ साउन ०७८ मा नाटकीय शैलीमा रौतहट जिल्ला अदालतमा उपस्थित भएर तत्कालै २ लाख धरौटीमा रिहा भएका थिए। पक्राउ परेका नुरुल्लाहका भाइ खलिउल्लाहको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट