सरकार संकटमा परेपछि बाग्मतीका मुख्यमन्त्रीले ढोलामण्डली मन्दिरमा चढाए पाठीको बलि

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्रीले शालिकराम जमकट्टेलले आफनो पद जोगाउन कामना गर्दै धादिङको ढोलामण्डली माईको मन्दिरमा पुजापाठ र पाठीको वली चढाएका छन्।

मुख्यमन्त्रीले आफनो पद जोगाउन निर्दोश प्राणीको बलि चढाएको भन्दै आलोचना पनि भईरहेको छ। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि उनी धादिङ्गको ज्वालामुखि ४ ढोलास्थित ढोलामण्डली माई मन्दिर पुगेका थिए।

एक्कासी दलबलसहित मन्दिर पुगेका उनले त्यहाँ पुजापाठ गरी पाठी बलि दिएको भिडियो र फोटो उनका प्रेस सहयोगी राजन अधिकारीले सार्वजनिक गरेका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री निर्वाचित उनी पहिलो पटक ढोलामण्डली पुगेको बताइन्छ । समय सर्वहारावादी संस्कृतिको कुरा गर्ने उनै जमकट्टेल आफ्नो पद जोगाउन भने मण्डली माईको शरणमा पुगेको भन्दै आलोचना भईरहेको छ।

यसअघि हाम्रो नेपाली पार्टीका २ सांसद मध्ये एकलाई पर्यटन मन्त्रालय दिएर जमकट्टेलले सरकार जोगाएका थिए। यतिवेला भने उनको सरकार धुरमुर भएको छ। गठबन्धनका दलबीच भागबन्डा नमिल्दा बाग्मतीमा मन्त्रालय बढाउने कि मन्त्री घटाउने भन्ने किचलो छ।

गत १९ चैतमा बिनाविभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरका कारण मन्त्रालय फुटाउने कि मन्त्री फिर्ता गराउने भन्ने विवाद सुरु भएको हो। उनलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय विभाजनको तयारी थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दाबी छ। आलेमगर एकीकृत समाजवादीबाट बिनाविभागीय मन्त्री बनेकी हुन्।

कांग्रेसहितको पहिलेकै गठबन्धन सरकारमा एकीकृत समाजवादीबाटै मन्त्री रहेका लक्ष्मण लम्साल (श्रम रोजगार तथा यातायात) र डा. राजेन्द्रमान श्रेष्ठ (कृषि तथा पशुपन्छी विकास मन्त्री) लाई हालको पुनर्गठित सरकारमा पनि यथावत् राख्दा थपिएकी आलेमगरलाई मन्त्रालय नपुगेको हो।

सिट संख्याका आधारमा एकीकृत समाजवादीले २ वटा मात्रै मन्त्रालय पाउने भएकाले त्यही दुई मन्त्रालयमध्ये एउटा खाली गरी बिनाविभागीय मन्त्री आलेमगरलाई दिन माओवादी केन्द्र र एमाले दुवैले माग गरेका थिए। तर एकीकृत समाजवादीबाट पहिलेदेखि मन्त्री रहेका लम्साल र श्रेष्ठ दुवै पछि हट्न तयार नभएपछि बागमती प्रदेशमा मन्त्रालय संख्या बढाउनुपर्ने अवस्था आएको हो।

एकीकृत समाजवादीले आफ्ना कुनै मन्त्री फिर्ता बोलाउन परे सरकारबाटै बाहिरिने चेतावनी दिएपछि मन्त्रालय फुटाएर भए पनि मन्त्री आलेमगरलाई जिम्मेवारी दिने तयारी थालिएको मुख्यमन्त्री जम्कट्टेलले स्वीकारे।

तर सत्ता साझेदार दल एमाले मन्त्रालयको संख्या थप्ने होइन, बरु मन्त्रीको संख्या घटाउनुपर्ने अडानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *