भुटानी शरणार्थी र सरकारी जग्गा हिनामिना प्रकरणमा विवादित आरजुको चिन्ता सहकारी ठगीमा

काठमाडौं– भुटानी शरणार्थी प्रकरण र लालपुर्जा, सरकारी छाप र नगदी रसिद नै नक्कली बनाएर टिकापुर नगर विकास समितिको जग्गा हत्याएको प्रकरणमा जोडिएकी तर शक्तिकेन्द्रको आडमा छानविनको दायरामै नपरेकी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सहकारी घोटाला छानबिनमा सरकार गम्भीर नभएको भन्दै चिन्ता जनाएकी छिन्।

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी राणाले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाईन।

सहकारी संस्थाहरुले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताएकी छिन्। स्मरणिय के छ भने, उनी स्वयम भने भुटानी शरणार्थी प्रकरण र लालपुर्जा, सरकारी छाप र नगदी रसिद नै नक्कली बनाएर टिकापुर नगर विकास समितिको जग्गा हत्याएको प्रकरणमा विवादित छिन्। भुटानी शरणार्थी प्रकरणमा आरजु र तत्कालिन गृहमन्त्री बालकृष्ण खाणकी पत्नि मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सर्वाधिक चर्चामा थियो।

सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिएको थियो। अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख थियो।

अडिओमा पीडितले काम हुनै लाग्दा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको भन्दै गुनासो गरिरहेको सुनिन्छ। गिरोहले आफूहरूलाई दुहुनो गाई बनाएको गुनासो उक्त कुराकानीमा सुनिन्छ। यसरी पीडितले गुनासो गरिरहँदा गिरोहका व्यक्तिले भने आफूले सबै मिलाइदिने र मिडियाहरूसँग समेत कुराकानी गरेको बताएका छन्।

यस विषयलाई आरजुले अस्विकार गर्दै आएकी छिन् भने मञ्जु भने निकै दिनसम्म सम्पर्कविहिन भएर एकै पटक प्रतिनिधि सभामा सार्वजनिक भएकी थिईन। यो प्रकरण अझै पनि निस्पक्ष अनुशन्धान नभएको सर्वत्र गुनासो छ।

यता, लालपुर्जा, सरकारी छाप र नगदी रसिद नक्कली बनाएर टिकापुर नगर विकास समितिको जग्गा एक सय २३ जनाको नाममा पास भएको प्रकरणमा पनि आरजु तानिएकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धानले गरेको अनुसन्धानमा विभिन्न मितिमा समितिबाट निर्णय गराएर त्यसको आधारमा किर्ते प्रमाणहरू निर्माण गरी जग्गा व्यक्तिहरूको नाममा गरेको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका पदाधिकारी र जग्गाधनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान गर्न सिआइबीमा फाइल पठाएको थियो। उक्त फाइलको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणमा सरकारी छाप, लालपुर्जा र रसिदहरू नक्कली भएको खुलेको हो।

सीआइबीको प्रतिवेदन अनुसार टिकापुर जग्गा किर्ते प्रकरणमा १ हजार बढी अनुसन्धानको दायरामा छन्। जसमा चर्चामा रहेका आरजु र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नाम छैन। टिकापुर विकास समितिबाट घडेरी लिनेमा आरजु र रेशमको नाम समेत खुलेको थियो। अख्तियारको मुद्दामा यी दुवैको नाम थिएन। सिआइबीले गरेको किर्तेको अनुसन्धानमा समेत यी दुईबारे केही उल्लेख छैन।

नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएका बेलामा आरजुको नाममा टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएको देखिएको थियो। रेशमले फूलबारी टेलिभिजनको नाममा ५ कट्ठा जग्गा लिएको खुलेको थियो। दुवैले वैधानिक रूपमा जग्गा लिएको दाबी गर्दै आएका छन्।

यसरी जताततै विवादमा रहेकी आरजुलीले रास्वपाका सभापति रवि लामिछानेलाई ललिक्षत गरेर सहकारी ठगी प्रकरणको विषय उचाले पनि नागरिक स्तरमा भने उनको आलोचना भईरहेको छ। आरजु भाउजुले ‘आफनो आङमा भैंसी नदेख्ने, अरुको आङको जुम्रा देख्ने’ भन्ने उखानलाई चरितार्थ गरेको कतिपयको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट