सप्तरीमा हत्यापछि सिरहामा लुटेराको आतंकः बम पड्काएर ६ घरमा लुटपाट

राजविराज– सप्तरीमा बैंक लुटपाटका लागि सुरक्षा गार्डको हत्या भएको घट्ना सेलाउन नपाउँदै सिरहामा बम पड्काएर ६ घरमा लुटपाट मच्चाईएको छ। लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको हो।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ। डाकाहरुले नगद, गरहना लुटेका छन्। ११ बजे राति आएका डाकाहरुले लुटपाटका लागि पहिला बम पड्काएका थिए।
बम पड्किँदा केही स्थानीयहरु घाइते भएका छन्। डाकाको प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लहान नगरपालिकाले पीडितका लागि राहत र घाइतेको उपचारका लागि एक÷एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। घटनाबारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
यसअघि सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडमा लुटपाट गर्न स्थानीय ३२ वर्षीय चन्द्रबहादुर सुवेदीले बैंकका सुरक्षागार्ड ५६ वर्षीय पर्शुराम फुयालको हत्या गरेका थिए। सप्तकोशी नगरपालिका–५, गंगाजली घर भएका सुवेदी सशस्त्र प्रहरीका पूर्व जवान हुन। उनले २७ बैशाखको विहानका राती करिव साढे ३ वजे खुकुरीले हानेर फुयालको हत्या गरेका थिए।