विभेदको मानसिक्ताले सिरोहियालाई पक्राउ गरेको भन्दै जनकपुरका मेयर धर्नामा

जनकपुर– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकरणमा अदालतलाई दबाब दिन जनकपुरधामका मेयर मनोजकुमार साह धर्नामा बसेका छन्।
साहले जिल्ला अदालत धनुषा अगाडि धर्ना सुरु गरेका हुन। सिरोहियालाई साधारण तारेखमा राखेर छाड्नुपर्ने मेयर साहको माग छ। उनलाई केही नगरवासीले पनि साथ दिएका छन्।
नागरिकता नम्बरमा फरक छ भने त्यो जिल्ला प्रशासन कार्यालयको त्रुटि भएको र त्यसमा सिरोहिया दाषी नहुने उनको तर्क छ। सिरोहिया जनकपुरवासी नेपाली भएको भन्दै उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए।
राज्यले विभेदपूर्ण सिरोहियामाथि कारवाही सुरु गरेको भन्दै उनले सो मुद्दा खारेज गर्नुपर्ने माग गरेका छन्। नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो।
आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत लगेको छ।