रेमाल आँधीका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु

काठमाडौं– आईतबार साँझ आएको रेमाल नामको आँधीका कारण भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। बंगलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु हुँदै आएको यो आँधीको रफ्तार ११० किलोमिटर प्रतिघण्टा थियो।

आँधीसँगै हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तटिय क्षेत्र जलमग्न भएको थियो। आँधीका कारण प्रभावित भएका करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

बङ्गलादेशमा कम्तीमा १० जनाको मृत्यु भएको जनाईएको छ। कोही डुबेर मरेका छन् भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन्। कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन्। ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ।

आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा रहेको एक बजार तहसनहस पारेको छ। छिमेकी मुलुक भारतमा पश्चिम बङ्गाल राज्य सरकारका वरिष्ठ अधिकारी सुमित गुप्ताले करेन्ट लागेर तीनसहित कम्तीमा छ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्।

आँधीका कारण हजारौं घरहरु ध्वस्त भएका छन्, रुखहरु ढलेका छन् र विद्युत लाइनमा क्षति पुगेको छ । हावाहुरीले केही टिन र छाना भएका घरहरू उडाएको थियो भने माटोका झुपडीहरू भत्किएका थिए।

चक्रवातअघि बंगलादेशमा करिब ३० लाख मानिसले दुर्घटना बाट बच्नका लागि बिजुली बन्द गरेका थिए। पश्चिम बङ्गालमा मात्रै १ हजार २ सय बिजुलीका पोलहरू ढलेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट