सडक विभागको लापर्वाहीले रतुवाको भेलमा बोलेरोसँगै २ वर्षीय बालक र एक महिलाको ज्यान गयो

दमक– इलामको चुलाचुली गाउँपालिका–५ चपेटीमा सोमवार रतुवा खोलाले बोलेरो जिप बगाउँदा दुई जनाको ज्यान गयो। लु१च ९४९१ नम्बरको बोलेरो झापाको दमकबाट इलामको माङसेबुङका लागि छुटेको थियो।

तर, साँझ करिव ७ वजे खोलाको भेलले जिप बगायो। जसमा माङसेबुङ गाउँपालिका– ५ करिब ३० वर्षीया शर्मिला वानेम र माङसेबुङ– ३ का दुई वर्षीय बालक निहाङ लिम्बूको मृत्यु भयो। दुर्घटनामा मृत्यु भएका दुईको शव बाढीले बगाएर केही तलसम्म पुर्याएको थियो।

बोलेरोमा ६ जना सवार थिए। उनीहरूमध्ये माङसेबुङ–३ की निरु लिम्बू घाइते छिन्। उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। अन्य तीनजना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगूले बताए।

स्थानीयका अनुसार यो दुर्घटना सडक डिभिजन र निर्माण कम्पनीको लापरबाहीका कारण भएको हो। उनीहरुका अनुसार दमक–चिसापानी सडकखण्ड निर्माणको काम ठेक्काको मिति सकिँदा पनि सम्पन्न भएको छैन। म्याद सकिएपछि निर्माण कम्पनीले सडक वन्द गरेर काम सुरु गरेको छ। जसका कारण बर्खाको समयमा जोखिम मोलेर रतुवा खोला भएर यात्रा गर्नुपर्ने बाध्यता छ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बर्खाको समयमा बाटो छेकेर काम गर्दा दुर्घटना भएको बताए। समयमा काम नसक्ने निर्माण व्यवसायी र खबरदारी गर्न नसक्ने सडक डिभिजनको लापरबाहीले यो दुर्घटना भएको उनको भनाई छ।

सडक डिभिजन कार्यालय दमकले दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) को ३३ किलोमिटर ट्रयाक चौडा गर्ने र कालोपत्रे गर्ने गरी तीन खण्डमा ठेक्का लगाएको थियो। ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा यो ठेक्का लागेको थियो।

कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो। तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो। तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले एक महिनाअघि मात्र दुईवटा खण्डको ठेक्का तोडिसकेको छ। पहिलो खण्डको पटक–पटक थपिएको म्याद सकिँदा पनि काम सम्पन्न भएको छैन। म्याद सकिएपछि पनि सडक डिभिजनले ठेक्का तोड्नुको साटो म्याद नथपी काम गर्ने सुविधा दिँदा यो समस्या आएको हो।

दुर्घटना भएको स्थल पहिलो खण्डमै पर्छ, जुन ७ किलोमिटरको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट