घरमा धामी पालेर छरछिमेकीलाई दुःख दिएको भन्दै एकल महिलामाथि निर्घात कुटपिट (भीडीओसहित)

जनकपुर– सर्लाहीको मलंगवा नगरपालिका– ७ मुसैलीटोलकी ६० वर्षीया एकल महिला इन्द्राशनदेवी महतोलाई स्थानीयवासीको एक समुहले कुटपिट गरेको छ। घरमा धामी पालेर छरछिमेकमा तनावको वातावरण श्रृजना गरेको भन्दै उनीमाथि कुटपिट गरिएको हो।

महिलामाथि २०/२५ दिनअघि नै भएको कुटपिटको भीडीओ यतिवेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। गाउँले भेला भएर उनीमाथि कुटपिट गरेको, लछारपछार गरेको र दुर्व्यवहार गरेको भीडीओमा देख्न सकिन्छ।

रौतहट घर भएका धामीलाई ढुक्कै घरमा पालेर सधैँ होहल्ला मच्चाउने, घर वरपर धागो र डोरीले घेर्ने, गाउँटोलमा अविर, चन्दन, अक्षता छर्किएर डर/त्रासको वातावरण बनाएपछि यो घट्ना कुटपिटसम्म पुगेको जनाईएको छ।

स्थानीयवासीले सवैभन्दा पहिला महिलाविरुद्ध वडा कार्यालयमा जानकारी गराएका थिए। वडाध्यक्ष इसा मिकरानीले उनलाई छलफलमा बोलाए तर, महिला छलफलमा पनि नगरेपछि विवाद वढ्दै गएको थियो। भनेको नसुन्ने, आफनो मनलागी गर्ने र छलफलमा बोलाउँदा समेत नआउने गरेपछि स्थानीयवासी एकजुट भएर उनीमाथि आक्रमण गरेको पाईएको छ।

महिलामाथि कुटपिट भएपछि धामी भनिएका ब्यक्ति फरार छन्। यता, घट्नाको ११ दिनपछि पीडित महिलाका छोरा धिरेन्द्र महतोले कुटपिट र दुर्व्यवहारमा संलग्न भएको आरोपमा आफ्नै काका बुद्धीलाल महतो, सन्तोष महतो, स्थानीय राहुल पासवान र शिव दुलारी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। ति मध्ये सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार छन्।

धिरेन्द्रकै उजुरीका आधारमा सन्तोष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले वताए। उनले पछिल्लो केही दिनदेखि घट्नालाई तोडमोड गर्ने प्रयास भईरहेको पनि जानकारी दिए। ‘पहिला दुर्व्यवहारको मात्रै कुरा थियो। छोराको उजुरीमा पनि दुर्व्यवहारको कुरा मात्रै छ’ एसपी सिंहले भने–‘तर, अहिले महिलालाई मलमुत्र खुवाईएको र वोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै प्रचार भईरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट