एमाले र लोसपाको अवरोधपछि जीतपुर सिमराको नगरसभामा झडप, वैठक स्थलमा प्रहरीको छापो

जनकपुर– नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अवरोध गर्न खोजेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा वैठकमा झडप भएको छ।
नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा झडप झडप भएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। तर, अवरुद्ध भएको नगरसभा अझै सञ्चालन हुन सकेको छैन।
मेयर राजन पौडेलको कृयाकलापप्रति नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधि असन्तुष्टि जनाउँदै आएका छन्। पौडेलसँग आफु निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रका जनप्रतिनिधि मात्रै साथमा छन्।
अन्य दलको विरोधकै कारण ६ र ८ असारका लागि आयोजना गरिएको नगरसभा स्थगित भएको थियो। अन्य दलका प्रतिनिधिले बैठक वहिस्कार गरेपछि कोरम नपुगेर स्थगित भएको बैठक सोमबार पुनः बोलाईएको थियो।
मेयर पौडेलले २५ प्रतिशत उपस्थिती पु¥याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने घोषणा गरेपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीका जनप्रतिनिधि नगरसभाको वैठकमा सहभागि हुन सहमत भए। तर, एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेपछि झडपको अवस्था बनेको जनाईएको छ।
उपमेयर भोला अधिकारीले १२२ जना नगरसभा सदस्य मध्ये २२ जना भेला पारेर वैठक वस्न थालेपछि अवरोध भएको बताए। ‘१ सय जना नगरसभा सदस्यलाई बाहिरै राखेर मेयरले बैठक चलाउन खोज्नुभयो’ उपमेयर अधिकारीले भने, ‘आफुसहित २२ जना वसेर एकलौटी ढंगले अघि बढेपछि हामीले बहिष्का हौ। त्यसको प्रतिवाद हुन्छ।’ अधिकारी नेकपा (एमाले) बाट निर्वाचित भएका हुन।