गुडिरहेको ट्रकमा आफैं आगो लाग्यो, निभाउन खोज्दा चालक घाईते

काठमाण्डौं– पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९, चाउखोला नजिककैको जंगलमा आज विहान गुडिरहेको ट्रकमा आफै आगो लागेको छ। आगलागीमा ट्रक जलेर नष्ट भएको छ।
महेन्द्रनगरबाट सिमेन्ट लिन दाङको लमही जाँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको खाली ट्रकमा विहान करिव साढे ४ बजे आँफै आगो लागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।
एसपी केसीका अनुसार वायरिङ सर्ट भएर आगो लागेको अनुमान छ। आगलागीबाट ट्रकको इन्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको केसीले बताए।
ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउने प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशीको हात जलेर सामान्य घाइते भएका छन्। अन्य दुई जना भने सुरक्षित छन्।
ट्रकमा लागेको आगो बिहान सवा ५ बजे लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ।