नाबालक छोराछोरीकै अगाडि श्रीमतीको विभत्स हत्या गर्ने श्रीमान पक्राउ

काठमाण्डौं– सामान्य भनाभनमा नाबालक छोराछोरीकै अगाडि श्रीमतीको विभत्स हत्या गरी ढोका थुनेर बसेका एक ब्यक्ति पक्राउ परेका छन्। दाङको राजपुर गाउँपालिका–१, रसरीका ३८ वर्षीय गणेश घर्तीलाई आज विहान प्रहरीले पक्राउ गरेको हो।
घर्तीले श्रीमती वर्षीया वसन्तीको हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सोमबार बिहान ९ बजेसम्म घरको ढोका नखुलेपछि छिमेकीले शंका लागेर प्रहरीलाई खबर गरेका थिए। घट्नास्थल पुग्दा वसन्तीको वीभत्स हत्या भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाकी इन्स्पेक्टर कालिका कार्कीले बताईन।
उनका अनुसार वसन्तीको टाउको र अनुहारमा पटक–पटक रडले प्रहार गरेको देखिएको छ। घट्ना राती भएको जस्तो देखिएको उनले वताईन । ‘तर, हत्या आरोपी गणेश श्रीमतीको हत्या गरेर पनि भागेनन्, सोही घरभित्र छुट्टै कोठामा ढोका थुनेर बसिरहेको अवस्थामा फेला परे।’– इन्स्पेक्टर कार्कीले भनिन्।
प्रहरीका अनुसार गणेश भान्सा कोठाको ढोका लगाई झ्याल खोलेर श्रीमतीकै शव हेरेर उभिएका थिए। श्रीमतीको हत्या गर्न प्रयोग गरिएको रड उनको हातमै फेला परेको थियो। उनीहरुका ३ जना छोरा छन्। १४ वर्षीय छोरा आफन्तको घरमा गएको खुलेको छ भने १२ र ८ वर्षका छोरा घरभित्रै भेटिएका छन्।
प्रहरीका अनुसार १२ वर्षीय छोराले घट्नाको बारेमा आफुलाई जानकारी नभएको बताएका छन्। ८ वर्षीय छोराले आफु ममीसँगै सुतेको बताएका छन्।
श्रीमतीको हत्या गरेकोमा गणेशले प्रहरीसँग पश्चाताप गरेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ।