बलात्कार मुद्दामा १२ वर्षको सजाय पाएका कैदी प्रहरीलाई चक्मा दिएर अस्पतालबाट भागे

विराटनगर– बलात्कारको कसुरमा १२ वर्ष कैदको सजाय भोगिरहेका मोरङ कारागारका एक जना कैदी विहिबार प्रहरी नियन्त्रणबाटै फरार भएका छन्।
बिरामी भएर उपचारका लागि लगिएका २४ वर्षीय मोहमद अहमद (आर्यन मोहमद अहमद खान) आर्यन मोहमद अहमद खान विराटनगर स्थित कोशी अस्पतालबाट फरार भएका हुन्।
विराटनगर महानगरपालिका–८ का खान बिहान करिव सवा ५ बजे अस्पतालको शौचालयबाट फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पेट दुख्यो भनेपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।
विहिबार विहान शाौचालय गएर निस्किने क्रममा अस्पताल निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए। उनी भारततिर भागेको हुन सक्ने प्रहरीको आशंका छ।
बलात्कारको मुद्दामा उनलाई मोरङ जिल्ला अदालतले २९ फागुन ०७९ मा १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार उनी ३ फागुन ०९१ मा मात्रै कारागार मुक्र हुनेछन्।