हेलिकप्टर दुर्घटनामा परेका पाँचै जनाको शव भेटियो, रुखमा ठोक्किएर झरेको थियो जमिनमा

काठमाण्डौं– नुवाकोटको शिवपुरी गाउँपालिका–७, सुर्यचौर डाँडामा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको मृत्यु भएको छ। प्रहरीले मृतक सवैको शव निकालेको छ।
नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टरमा पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक थिए। चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन्।
बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर स्याफ्रुवेसीका लागि उडेको ३ मिनेटमा सम्पर्कविहिन भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो। दुर्घटनाको कारणबारे पत्ता लागेको छैन। उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
४ जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको बताएका उनले २ जना पुरूष, १ जना महिला, १ जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले पहिचान हुन नसकेको जानकारी दिए।