जग्गा विवादले माईत बस्न थालेकी श्रीमतीलाई घरमा बोलाएर काटी–काटी हत्या, श्रीमान पक्राउ
विराटनगर– मोरङको सुन्दरहरैँचामा आईतबार एक महिलाको उनकै पतिले खुकुरी प्रहार गरी हत्या गरेका छन्।
सुन्दरहरैँचा नगरपालिका–१०, बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले पत्नि ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन्। लक्ष्मणले बिहान ११ बजे पवित्रामाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
गम्भीर घाइते अवस्थामाा उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो। उपचारका क्रममा १ घण्टापछि नै उनको मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीका अुसार अंश विवादका कारण पति पत्निका बीचमा झगडा थियो। यसै विषयमा दुवै जनाले एकअर्का विरुद्ध अदालतमा मुद्दासमेत हालेका थिए। पछि मिलेर बस्ने सहमति गरेपछि मिलापत्रमा मुद्दा टुंगिएको थियो।
जानकारी अनुसार लक्ष्मणले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए। दुई जनाबीच झगडा हुन थालेपछि वैशाखदेखि पवित्र मोरङकै लेटाङस्थित माइततिर गएर बस्न थालेकी थिइन्। त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हाले। पवित्राले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा हालेकी थिईन।
अदालतमा एकअर्का विरुद्ध मुद्दा हालाहालको अवस्था आएपछि १० साउनमा दुवै जनालाई छलफलमा बोलाएर जग्गा दुवै जनाको नाममा गर्ने र आगामी दिनमा मिलेर वस्ने गरी मुद्दामा मिलापत्र गराईएको थियो। त्यसपछि दुवैले मुद्दा फिर्ता लिएका थिए।
पवित्रा माइतीमै बस्न थालेकी थिईन। यसले झन सम्वन्ध विग्रदै गएको थियो। त्यसपछि लक्ष्मणले पवित्रालाई फकाएर घरमा बोलाएका थिए। त्यसपछि बिहान खाना खाने बेलामा विवाद गरेर उनले पवित्राको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको पाइएको छ। प्रहरीले लक्ष्मणलाई खुकुरीसहित पक्राउ गरेको छ।