जनयुद्ध नभन्दिएपछि रिसाए प्रचण्डः ओली र देउवामा अराजकता फैलाउने प्रवृत्ति देखिएको आरोप

काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुप्रति असन्तुष्टि जनाएका छन्।

संक्रमणकालिन न्याय (टीआरसी) सम्वन्धि विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष दाहालले अहिले पनि नेताहरुले बोल्दा ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेको बताए । उनले भने–‘माओवादी जनयुद्ध शब्द प्रयोग ग-यो भने जात नै जाला जस्तो गर्नुहुन्छ।’

सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौं, त्यो सम्भव हुने थिएन।’

दाहालले कांग्रेस र एमाले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको आशंका पनि ब्यक्त गरे। सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएपनि ब्यवहारमा भने त्यस्तो नदेखिएको दाहालको भनाई छ।

‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, दाहालले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’

दाहालले ओली र कांग्रेस सभापति शेरबहादुर देउवामा समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए। यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने उनको भनाई थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट