झापामा मोटरसाईकल दुर्घटना हुँदा पैदल यात्रीसहित २ जनाको मृत्यु

दमक– झापामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना पैदल यात्री र एक जना मोटरसाईकलमा सवार युवक छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–१३, कालिझोडामा मंगलबार राती साढे ८ बजे मे. ६ प ८३२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीसहित ३ जना घाईते भएका थिए।
बिर्तामोडबाट चारआलीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका करिव ३५ वर्षीय पुरुष पैदलयात्री तथा मोटरसाईकलमा सवार मेचीनगर–९ का २९ वर्षीय मन्दिप मेचे र सोही ठाउँका २५ वर्षीय सागर मेचेलाई घाईते अवस्थामा उपचारका लागि विर्तामोड स्थित बिएन्डसी अस्पताल भर्ना गरिएको थियो।
पैदल यात्रीको उपचारको क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको सनाखत भएको छैन। यता, मोटरसाइकलमा सवार मध्ये सागरको पनि बुधवार दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।