श्रीमतीको विभत्स हत्या गर्ने मंगलको बयानः बन्चरोले शव काटेर ११ टुक्रा पारी जंगलमा लगेर गाडेँ
काठमाण्डौं– श्रीमतीको हत्या आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका–५, कालीखोला (काफलडाँडा) का ३६ वर्षीय मंगलबहादुर पाख्रिनको बयान र शवको अवस्था हेरेर अनुशन्धान अधिकृत समेत स्तब्ध भएका छन्।
मंगलबहादुरले सुन्दै आङ जिरिङ्ग हुने गरी श्रीमती २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालका अनुसार मंगलले आईतबार दिउँसै लक्ष्मीको हत्या गरेका थिए। प्रहरीले सोमबार उनलाई पक्राउ गरेको थियो। मंगललाई पक्राउ गर्दा शव भने फेला परेको थिएन।
प्रहरीका अनुसार मंगल र लक्ष्मी एउटा घरमा र आमा–बुवा अर्को घर (करिव २५ मिटर टाढा) बस्छन्। आईतबार आमा–बुवा छोरा बुहारी बस्ने घरमा पुगेका थिए। तर त्यहाँ लक्ष्मीलाई नदेखेपछि उनीहरुले सोधीखोजी गरे। तर, मंगलले कुनै जवाफ दिएनन्। पटक–पटक सोधेपछि ‘मारेको’ भन्दै उनले जवाफ दिए।
सोमबार एक जना महिलाको हत्या भएको सूचना इलाका प्रहरी कार्यालय पालुङमा पुग्यो। त्यसपछि उनी पक्राउ परेका हुन। लामो समयसम्म उनले हत्या स्विकारेनन्। तर, राती करिब ८/९ बजेतिर भने उनले अपराध स्वीकार्दै शव लुकाएको ठाउँ पनि खुलाए।
उनले भने अनुसार राती नै प्रहरी खटिएर कालिखोलास्थित सामुदायिक वनमा घटनास्थललाई सुरक्षित गरेको थियो। भोलीपल्ट शव उत्खनन् गरिएको प्रहरीले जनाएको छ। मंगलले लक्ष्मीको घरभित्रै हत्या गरी बन्चरोले काटेर शवलाई ११ वटा टुक्रा पारेका थिए। सवै टुक्रालाई २ वटा बोरामा हालेर कालीखोलाको जंगलमा लगि खाल्डो खनेर गाडेका थिए।
शवका टुक्रा गाडीसकेपछि बन्चरोको बीँड समेत फुकालेर घरभन्दा पूर्वतर्फ खाल्डो खनेर गाडेको उनले बयानमा खुलाएका छन्। एसपी रिजालका अनुसार मंगललाई १ वर्षसम्म वडा कार्यालयले सञ्चालन गरेको सुधार केन्द्रमा राखिएको थियो। त्यहाँबाट निस्किएपछि श्रीमान र श्रीमतीको बीचमा सम्बन्ध राम्रो नभएको खुलेको छ। हत्याको कारण यही नै हो भन्ने यकिन भई नसकेको उनले वताए। उनीहरूका १३ महिनाकी छोरी छिन्।