गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटरमा सवार महिलाको पहिचान खुल्यो

काठमाण्डौं– भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दोलखाको मेलुङ गाउँपालिका–६ की २६ वर्षीया सुष्मा नेपाली हुन।
काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयका एसएसपी जीवन श्रेष्ठले मृतक महिलाको पहिचान भएको बताए। बिहीबार दिउँसो करिव साढे १ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार नेपालीको मृत्यु भएको थियो।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। स्थानीयका अनुसार ट्रकले सुरुमा महिलाको खुट्टा मात्रै किचेको थियो। पछि ब्याक गरेर मारेको भन्दै चर्को आन्दोलन भईरहेको छ।
ट्राफिक प्रहरीले लुकेर गाडी चेक गर्ने क्रममा यस्तो दुर्घटना भएको भन्दै स्थानीयले ट्राफिक प्रहरीमाथि पनि आक्रोश पोखेका छन्। उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी अश्रुग्याँस प्रहार गरेको छ।