रामछाप पहिरोः ४ वटा घर पहिरोले बगायो, ११ जना वेपत्ता, शिक्षिका र शिशुको शव निकालियो

काठमाण्डौं– रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३, लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर ४ वटा घरका ११ जना बेपत्ता भएको खुलेको छ। पहिरोमा पुरिएका शिशुसहित २ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार १८ महिने बालक आयुस थापा मगर र ३० वर्षीया चण्डिका श्रेष्ठको शव भेटिएको हो। पालिकाका सूचना अधिकारी भोला पाठकका अनुसार चण्डिका स्थानीय विद्यालयकी बाल विकासमा पढाउने शिक्षिका र आयुस उनका छोरा हुन।

चण्डिकाको घरबाट एक बालिकालाई घाइते अवस्थामा उद्धार गरिएको छ। पहिरोले तीनवटा घरका परिवार नै बगाएको छ। कति मान्छे थिए भन्ने एकिन नभएपनि स्थानीय दिएको जानकारी अनुसार ११ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार भीमबहादुर थापा मगरको घरका तीन, उर्मिला पहरीको घरका चार, काले पहरीको घरका तीन र अर्को एक घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारीमा छ। शनिबार राती भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ।

स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ। बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट