विवादास्पद ‘बाबा’लाई बलात्कारमा उन्मुक्ति, उच्च अदालतबाट पनि सफाई

विराटनगर– बलात्कारको आरोप लागेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले सफाई दिएको छ। उनीविरुद्ध अनुयायीलाई बलात्कार अभियोगमा मुद्दा दर्ता भएको थियो।

उच्च अदालतले मंगलबार जिल्ला अदालत सुनसरीको फैसलालाई सदर गरेको हो। न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासमा भएको सुनुवाइपछि जिल्लाको फैसला सदर भएको रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए।

सुनसरीको चतरा धामस्थित आश्रममा बस्दै आएका गिरीमाथि महिला अनुयायीलाई आश्रममा बोलाएर ०७६ कात्तिकमा बलात्कार गरेको आरोप लागको थियो। कात्तिक ०७६ मा काठमाडौं प्रहरी परिसरमा उनी विरुद्ध जाहेरी परेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दियो। पक्राउ परेका गिरी हिरासत छल्न बिरामी भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए।

उनी अस्पतालमै भएका बेला जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरुद्ध सरकारी वकिल उच्च अदालत पुग्यो।

उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ (हाल सर्वोच्चका न्यायाधीश) र प्रेमराज कार्कीको संयुक्त इलजालसले जिल्लाको आदेश उल्टाउँदै गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो।

त्यसपछि उनी सुरक्षा गार्डलाई जोगवनीनजिक छाडेर भारततिर भागे। पछि आफै अदालतमा हाजिर भएपछि झुम्का कारागार पुगे। उक्त आरोपमा गिरी विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा परेको थियो।

जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासबाट ०७७ मंसिरमा उनले सफाइ पाए। तर, फैसला हुनुअघि सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदनको थियो। यद्यपी आरोपित पक्षको मात्रै सुनुवाई गरेर सफाई दिईएको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्यो।

मुद्दाको सुरु फैसला नमिलेको भन्दै उच्च अदालत विराटनगरले त्यसलाई उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतलाई आदेश गरेको थियो। त्यसपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट भदौ ०८० मा उनले दोस्रो पटक सफाई पाए। दुवैपटक दाबी नपुग्ने भन्दै उनलाई सफाई दिईएको थियो।

जिल्लाको फैसला चित्त नवुझेर सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको सुनुवाईका क्रममा मंगलबार उच्चले पनि गरीलाई सफाई दिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट