भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्या, सीमाबाट २ किलोमिटर भित्र भेटियो कुहिएको शव
दमक– झापाको भद्रपुरकी एक युवतीको भारतको पश्चिम बङ्गालमा बलात्कारपछि हत्या भएको छ। घट्नास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब २ किलोमिटर पूर्वउत्तरमा पर्छ।
झापा भद्रपुरकी ३२ वर्षीया बबिता राजवंशीको शव ३० भदौमा पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ जिल्लाको खोरीबारी थाना, बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो। उनी श्रीमानसँग छुट्टिएर छोराहरूसँगै भद्रपुर–६ स्थित गिरी चोकमा घर भाडा लिएर बस्दै आएकी थिईन।
घटना विवरण अनुसार सागसब्जी बिक्री गर्दै परिवार पाल्दै आइरहेकी बबिताको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। उनी सीमावर्ती भारतीय बजारमा सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताएका छन्।
बबिता केही दिनदेखि हराइरहेकी थिईन। यसैक्रममा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेपछि परिवारका सदस्य भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए। उनले लगाएको कपडाको आधारमा शवको पहिचान गरिएको हो।
परिवारका सदस्यले खोरीबारी पुलिस थानामा ४ जना भारतीय विरुद्ध किटानी जाहेरी दिएका छन्। प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिकका नाममा प्रहरीमा जाहेरी परेको जनाईएको छ। उनीहरूसँग बबिताको आर्थिक लेनदेन रहेको खुलेको छ।
भारतीय प्रहरीको प्रारम्भिक अनुशन्धानमा बबिताको बलात्कारपछि हत्या भएको खुलेको छ। घट्ना अनुशन्धानका क्रममा बंगाल पुलिस मंगलबार बबिताको कोठामा समेत पुगेको थियो।
सादा पोसाकमा आएका ४ जना वंगाल पुलिसको टोलीले बबिताको कोठा खानतलासी गरी विवाह दर्ता, भारतमा उपचार गराएको कागजात र लुगाफाटा लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन्। वडाध्यक्ष रतिया राजवंशीका अनुसार उनीहरुले मृतकका आफन्तसँग समन्वय गरेर कोठा खानतलासी गरेका हुन। खानतलासीका क्रममा नेपाल प्रहरीको उपस्थिती भने नदेखिएको उनको भनाई छ।
घटनाको अनुसन्धान गर्न मंगलबार दिउँसो भारतीय प्रहरी सादा पोसाकमा नेपाल आएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालले बताए। टोलीले मृतकको कोठा खानतलासी गर्ने विषय भने आफुलाई जानकारी नगराएको उनको भनाई छ। कोठा खानतलासीपछि बबिताको कोठाको चावी भने वडा प्रहरीकै रोहबर जिम्मा लगाएको उनले जानकारी दिए।
झापा प्रहरीका एसपी मिलन केसी र डीएसपी कृष्णकुमार चन्दलाई भने भारतीय प्रहरी नेपाल आएको बारे जानकारी नै नदिईएको खुलेको छ।