झ्याप्ले खोलाको पहिरोमा एउटा बस पुरिएको अवस्थामा भेटियो
काठमाडौँ– नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ। पुरिएको बस गोरखाबाट छुटेपछि ३६ घण्टादेखि हराईरहेको ना४ख २२७० नम्बरको बस हुन सक्ने अनुमान छ।
उत्तरी गोरखाको लापुवेशीबाट छुटेको यो बस शुक्रबार राती १० वजेदेखि सम्पर्कविहिन भएको थियो। बसको केही भाग मात्र देखिएको छ। एक्स्काभेटर लगाएर पहिरो पन्छाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले वताए।
गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ। झ्याप्ले खोलामै हिजो एउटा बस र एउटा विंगर पुरिएको अवस्थामा फेला परेका थिए। ती सवारीमा भेटिएका १४ मध्ये ९ जनाको शवको सनाखत भएको छ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगरबाट निकालिएका मध्ये स्याङजाको गल्याङ नगरपालिका ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षीय दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराईको सनाखत भएको छ। उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन।
बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको मृत्यु भएको छ । नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी सात जनाले मात्रै टिकट काटेको रेकर्ड छ।