झ्याप्ले खोला पहिरोको नालिबेलीः माथ्लो सडकको डिलैदेखि खसेको पहिरोले पुर्‍यो जाममा परेका सवारी

काठमाडौँ– नौबिसे–नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलाको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या हालसम्म १ बालक र ९ महिलासहित ३५ पुगेको छ। तर, यो पहिरो कसरी गयो र कति सवारी साधन पहिरोमा परे भन्ने कौतुहलताकै विषय छ।

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ। झ्याप्ले खोलामा माथिल्लो सडकको डिल भासिएर सवारी साधन पुरेको अनुमान छ। माथिल्लो सडक भन्नाले नौबिसे नागढुङ्गा सडक कै सिरान हो। जुन स्थान नागढुङ्गाबाट थोरै तल पर्छ। त्यो स्थान पनि भौगोलिक रुपले कमजोर छ।

सडक विस्तारको क्रममा छेउकुना भत्काइएको र छेउपट्टि ग्याबिन जाली र मेसिनरी वाल लगाइँदै गरेको अवस्था छ। कुनापट्टि भित्ता ताछेर फालिएकै माटो डिलैबाट पहिरोको रुपमा बगेर तल्लो सडकसम्म पुगेको छ।

ढिस्को भासिएर जङ्गलसहित पहिरो सडकमा गुडिरहेका सवारीमाथि बजारिएको अनुमान छ। धादिङका सीडीओ राजेन्द्रदेव पाण्डेका अनुसार माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको छ। पहिरोका ढुङ्गामाटो गुडिरहेकै सवारीमाथि खसेको जस्तो देखिएको छ। पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएको छैन।

ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा पुगेर करिब १० फिटसम्म अग्लो थुम्को तयार भएको छ। ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबसलाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उनले जानकारी दिए।

धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रमजङ रानाका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो खसेको थियो। त्यही पहिरोले गर्दा गाडी जाम लागेको थियो। अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिएको अनुमान छ।

पहिरोमा चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका ८ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु परेको प्रहरीले जनाएको छ। तर सबैको सनाखत भएको छैन।

यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट