पेट्रोल ट्यांकरमा गाँजा तस्करी, ३९२ किलो गाँजासहित चालक र सहचालक पक्राउ

हेटौंडा– यसअघि एम्वुलेन्स र प्राईभेट गाडीमा हुँदै आएको गाँजा तस्करी अव इन्धनका ट्यांकरमा पनि हुन थालेको छ। त्रिभुवन राजपथ हुँदै पालुङबाट वीरगञ्ज गइरहेको ना ७ ख १७७१ नम्बरको तेल ट्यांकरमा ३९२ किलो लागूऔषध गाँजा भेटिएपछि यस्तो खुलासा भएको हो।
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पुर्व–पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुई जनालाई प्रहरीले मंगलबार बिहान करिव ३ बजे पक्राउ गरेको छ। ट्यांकर चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेका २६ वर्षीय रोशन पुरी र सहचालक ज्यामिरे बस्ने २२ वर्षीय धनबहादुर मल्ल पक्राउ परेको मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए।
ट्याङकरको पाँच वटा डिब्बामध्ये ३ नम्बर को डिब्बाभित्र २५ वटा पोका बनाएर गाँजा राखिएको अवस्थामा फेला परेको हो। मकवानपुरका विकट क्षेत्रमा गाँजा उत्पादन हुने गरेको र त्यो गाँजा भारत तस्करी हुँदै आएको छ।