झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्गमा तनाव, बस जलाईयो
दमक– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। घट्नापछि बसमा आगजनी गर्दै राजमार्ग अवरुद्ध गरिएको छ।
पूर्व जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोहि दिशामा जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। शव राजमार्गमै छ।
बसमा आगजनी र सडकमै शव राखिएका कारण अहिले राजमार्गमा ठूलो भिड लागेको छ। भिडलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ। यद्यपी करिव आधा घण्टाअघि देखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ।
प्रहरीले वैकल्पिक मार्गबाट यातायात संचालन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकलको नम्बर र चालकको पहिचान नभएको बताएको छ।
प्रतिक्रिया