चितवनमा मोटरसाईकल, स्कुटर र बोलेरो आपसमा ठोक्किदा १ जनाको मृत्यु, २ जना घाईते
भरतपुर– चितवनको भरतपुर महानगरपालिका–२४ लक्ष्मणचोकमा विहिबार दिउँसो ३ वटा सवारीसाधन आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। घट्नामभा अन्य २ जना गम्भीर घाइते भएका छन्।
दिउँसो करिव साढे ११ बजे लक्ष्मणचौकमा बागमती प्रदेश ०१–०२४ च ४९९३ नम्बरको बोलेरो, बागमती प्रदेश ०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००१ प ८८८२ नम्बारको स्कुटर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित दाह्रेचोककी रामकुमारी गुरुङ (३७) को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका सोजन शेरचन (३१) र मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–२४ का हरिशरण थापामगर (३१) घाइते भएका छन्। दुवैको अवस्था गम्भिर छ। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।