प्रहरीले घण्टी हल्लाएझै चेक हल्लाई दिएपछि सल्याकसुलुक भए रवि लामिछाने

काठमाडौँ– सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाउनेहरुलाई नेपाल प्रहरीले केही हदसम्म चुप लगाएको छ। सहकारीबाट लिएको ऋणको व्याज तिर्न लामिछानेले नै हस्ताक्षर गरेका केही चेक सार्वजनिक गरिदिएपछि लामिछानेका धेरै समर्थक मुखमा बुजो लगाउन बाध्य भएका छन्।
समर्थक मात्र होईन, स्वयम् रवि लामिछाने समेत चेकका कारण तनावमा आएका छन्। रुपन्देहीको बुटबलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा ‘आफ्नो नाममा कसले रकम झिक्यो, किन झिक्यो तथा उक्त सहकारीसँग कम्पनीले गरेको कारोबारबारे आफूलाई केही थाहा नभएको’ बयान दिएका लामिछाने प्रहरीले चेक नै देखाई दिएपछि भने झस्किएका थिए।
‘कारोबारबारे थाहै छैन भने ब्याज भुक्तान गर्न किन चेक काट्नुभयो? तपाईंको हस्ताक्षरसहितको चेकबाट रकम जम्मा भएको रहेछ ?’ भन्दै प्रहरीले प्रश्न गरेपछि लामिछाने झनक्क रिसाएका थिए। रिसकै क्रममा उनले ‘प्रमाणबिना आरोप लगाउने ? प्रमाण भए ल्याऊ’ भन्दै चुनौती दिएपछि प्रहरीले उनकै हस्ताक्षरसहितको चेकको प्रतिलिपि घण्टी हल्लाए झै हल्लाई दिएको थियो।
एक प्रहरी अधिकारी भन्छन्–‘त्यो देखेपछि लामिछाने नर्भस हुनुभयो। धेरैबेर घोरिएपछि मलाई मेरा कानुन व्यवसायीसँग बुझ्न दिनुस् भन्नुभयो। अनि बरन्डामा गएर थप घोरिनुभयो। धेरैबेरपछि फर्किएर मैले हस्ताक्षर गरेर घर्रामा राखेको चेकमा कसैले रकमसहितको विवरण भरेर बुझाएको हुन सक्छ भन्ने जवाफ दिनुभयो।’
पहिलो दिन बयान दिएर निस्कने क्रममा ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन’ भन्दै प्रतिक्रिया जनाएका लामिछानेले चेकको प्रसंग आएपछि भने भिजेको मुसा जस्तै भएका थिए। उनले बयानका लागि समय मागे। दोस्रो दिन (२८ कात्तिक) त्यसैले बयान रातिसम्म लम्बिएको थियो। अनुशन्धान अधिकृत भन्छन्–‘चेक देखाउनु अघिसम्म निरन्तर बयान भइरहेको थियो, जब चेकको प्रतिलिपि देखाएर सोधपुछ सुरू भयो, उहाँले समय लगाउनुभयो। चेकको प्रमाण प्रहरीसँग छ भनेर उहाँले कल्पना पनि गर्नुभएको थिएन होला। सोही कारण दोस्रो दिनको बयान रातिसम्म लम्बियो।’
स्रोतका अनुसार रवि लामिछाने विरुद्ध कास्कीपछि रुपन्देही र काठमाडौँ जिल्ला अदालतले पालैपालो त्यत्तिकै पक्राउ पुर्जी काटेका होइनन्। अनुसन्धानका क्रममा नेपाल प्रहरीले रवि लामिछाने उम्कनै नसक्ने प्रमाणहरु फेला पारेको छ। प्रहरीले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको खातामा लामिछानेले रकम जम्मा गरिदिएको विषयमा पनि यसैगरी प्रश्न सोध्ने तयारी गरेको छ।
स्रोत भन्छ– ‘तर अहिले नै ती प्रमाण देखाएर रविलाई र्याखर्याख्ती पार्ने काम भने प्रहरीले गरेको छैन। सबै कोणबाट अनुसन्धान सकिएपछि अन्तिममा प्रमाण देखाउँदै ‘यो चाहिँ के हो त माननिय ज्यू ?’ भन्दै प्रश्न सोध्ने तयारी प्रहरीको छ। भएभरका प्रमाण अदालतमा पेश गरेर अहिले सबै विषयमा इन्कारी बयान दिइरहेका लामिछानेलाई झुठा ठहर्याउँने र जिल्याउने तयारी प्रहरीले गरेको स्रोतको दावी छ।
‘हैन भन्ने बयान दिए पनि अन्त्यमा रवि लामिछाने अत्तालिने अवस्थामा पुग्नेमा नेपाल प्रहरी ढुक्क छ। त्यसैले दुराशययुक्त ढंगले थुनामा राख्यो भन्ने आरोप लागिरहँदा पनि प्रहरीले खासै वास्ता गरेको छैन’ एक अनुशन्धान अधिकृतले भने। सुरक्षा निकाय र अनुसन्धानमा संलग्न व्यक्तिहरूले रवि उम्कनै नसक्ने गरी ठूलै लेनदेनका प्रमाण हात परिसकेको गृह र प्रधानमन्त्रीलाई जानकारी दिँदै आएका छन्।