काठमाडौँ प्रहरीको भीआईपी हिरासतमा रवि लामिछाने, पूर्वमन्त्री अधिकारी बसेकै कोठामा डेरा

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई विहिबार काठमाडौँ ल्याएर जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ।

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका तत्कालिन एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखेकै हिरासतमा लामिछानेलाई राखिएको हो। उनलाई साँझपख पोखराबाट बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याईएर परिसरको भीआईपी कक्षमा राखिएको स्रोत जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ उत्रिएका रविलाई त्यहाँबाट प्रहरीले भ्यानमा हालेर स्कर्टिङ गर्दै भद्रकाली ल्याएर हिरासतमा राखेको छ। शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय खुलेपछि बयानका लागि पेश गरिने प्रहरीले जनाएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको हो। लामिछानेसहित २६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ। त्यहाँ १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको जनाईएको छ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेललाई समेत पोखराबाट काठमाडौं ल्याएर बयान लिइएको थियो। रविविरुद्ध साहारा चितवन सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँपछि उनलाई चितवन लाने प्रहरीको तयारी छ।

यो सहकारी ठगी प्रकरणमा ८ भदौमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ भने जीबीसहित उनको परिवारका भुपेन्द्रबाबु, अनन्तबाबु, देवेन्द्रबाबुसहित १७ जनालाई प्रतिवादी बनाईएको छ।

मंसिर पहिलो साता २४ जना बचतकर्ताले जाहेरी दिएपछि रविसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ। लामिछाने २ कात्तिकमा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए। त्यसयता उनी प्रहरी हिरासतमै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट