थाइल्यान्डकी प्रधानमन्त्रीको सम्पत्तिः २० लाख डलरका २ सय ह्यान्डब्याग र ५० लाख डलरका ७५ वटा घडी

काठमाडौँ– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रवार आफनो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन्। सम्पत्ति विवरण ४० करोड अमेरिकी डलरभन्दा धेरैको छ।
सार्वजनिक विवरणमा उनीसँग २० लाख अमेरिकी डलरभन्दा धेरै मूल्यका २ सय वटाभन्दा धेरै ह्यान्डब्याग र झन्डै ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको उल्लेख छ।
पधानमन्त्री पेटोङ्टार्न पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन। उनले गएको सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी हुन।
पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गरकी हुन। उनले आफूसँग १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छिन्।
उनका पिता थाई टेलिकमका मालिक समेत हुन। उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ। आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उनले उल्लेख गरेकी छिन्।
उनले झन्डै पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छिन्। उनको कुल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर छ।