कुपिण्डेमा २ नाबालिका मृत्यु प्रकरणः श्रीमानले शंका गरेर ‘दुवै छोरी मेरा होईनन्’ भनेपछि आमाले नै गरिन हत्या

काठमाडौँ– सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई नाबालिका छोरीको हत्या गरेकी १७ वर्षीया आमा पूर्णिमा रानामगरले ‘श्रीमानले मेरा छोरी होईनन्’ भनेपछि हत्या गरेको बयान दिएकी छिन्।
पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधबार बिहान पूर्णिमाका छोरीहरु ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी घरभित्रै मृत भेटिएका थिए। अनुशन्धानका क्रममा छोरीहरुको हत्या गर्नु पूर्व उनले ‘छोरीहरू बिरामी भए’ भन्दै जेठानीलाई खबर गरेकी थिईन।
छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो। त्यसपछि घटनास्थल पुगेको प्रहरीले मृतकहरूको घाँटीमा डाम देखेपछि पूर्णिमालाई नियन्त्रणमा लिएको थियो। पूर्णिमाले अपराध स्विकार गरिसकेकी छिन्।
उनले बताए अनुसार हाल रोजगारीका लागि नुवाकोटमा रहेका श्रीमानसँग बुधबार विहान उनको फोनमा कुराकानी भएको थियो। श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि फोनमै उनीहरुको झगडा पर्यो। त्यही रिसमा दुवै छोरीको हत्या गरेको पूर्णिमाले अनुसन्धान अधिकृतहरूसँग बताएकी छन्।
‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’उनले भनेकी छिन्। प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन्। ‘आफूले आत्महत्या गर्छु भनेर प्रयास गरेको र तर नसकेको भनेकी छन्’–सल्यान प्रहरी स्रोतले भन्यो।
उनले झगडा परेको वताएपनि टेकमान र उनको बिचमा झगडा भएको प्रमाण प्रहरीले फेला पारेको छैन। जानकारी अनुसार उनले १४ वर्षको उमेरमै टेकमान रानामगरसँग विवाह गरेकी थिइन्। टेकमान अहिले २५/२६ वर्षका छन्।
घर खर्च चलाउन दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन्। उनका श्रीमानसहित जेठाजु, सासू, ससुरा सबै कामको सिलसिलामा नुवाकोटमै छन्। घट्नापछि उनीहरु घर फर्किदै गरेको प्रहरीले जनाएको छ।