रूपन्देही–३ का रास्वपा उम्मेदवार लेखजङ्ग थापाको बहुविवाह प्रकरणः जेठी पत्नी संगै, कान्छीसँग सम्बन्ध विच्छेद

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले बहुविवाह गरेको र त्यससम्बन्धी मुद्दा दर्ता भएपछि सम्बन्धविच्छेद गरेको खुलेको छ। बहुविवाह प्रकरणमा गम्भीर विवाद उत्पन्न भएपछि उनले मंगलबार सामाजिक सञ्जालबाट सम्वन्ध विच्छेदको कागज सार्वजनिक गरेका थिए।

फेसबुकमार्फत उक्त कागज सार्वजनिक गर्दै थापाले आफ्नो निजी जीवन विवादलाई नियोजित आक्रमणका रूपमा चित्रित गरेका छन्। उनले भनेका छन्–‘रुपन्देही–३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरू देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।’

‘खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरूलाई उत्तर दिँदैछु। प्रश्न गर्ने सबै जनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण।’– उनले लेखेका छन्।

रूपन्देही जिल्ला अदालतको सम्बन्धविच्छेद आदेशको आंशिक अंश सार्वजनिक गर्दै उनले कानुनी प्रक्रिया पुरा भएको दाबी गरेका छन्। त्यो कागज अधिकांश भाग ब्लर गरिएको छ। त्यसमा सम्वन्ध विच्छेद कुन श्रीमतीसँग भएको र विषय के थियो भन्नै खुल्दैन। थापाले ती विषयहरु नियतवस छोपेको देखिन्छ।

मुद्दाको कागजात अध्ययन गर्दा भने अनौठो कुरा फेला परेको छ। जेठी पत्नीले मुद्दा हालेको भए बहुविवाह गरेर कान्छी ल्याएको उल्लेख हुन्थ्यो। लेखजंगका छिमेकीहरूका अनुसार अदालतमा मुद्दा दायर गरी सहमतिमा सम्वन्ध विच्छेद गर्ने नुमा शर्मा कान्छी पत्नी हुन।

अदालतमा दर्ता गरिएको मुद्दा अनुसार, थापाले २०७० सालमा नुमा शर्मासँग विवाह गरेका थिए। त्यसपछि २०७१ साल असोज १९ गते उनीहरूलाई एक छोरा जन्मिएको थियो। तर, २०७९ साल पुस २० गते नुमा शर्माले अदालतमा उजुरी दर्ता गर्दै आफूलाई खान–वस्न नदिएको, निरन्तर शारीरिक तथा मानसिक यातना दिएको र घरबाटै निकालेको आरोप लगाइन्।

उजुरीमा उनले पति लेखजङ्गविरुद्ध घरेलु हिंसा र असह्य व्यवहारका कारण सम्बन्ध विच्छेद माग गरेकी थिइन्। यस अर्थमा थापाले जेठी श्रीमतीसँगको वैवाहिक सम्बन्ध कायम रहँदै कान्छी श्रीमतीसँग विवाह गरेको प्रमाण भेटिन्छ।

यो उजुरीपछि दुवै पक्ष माघ १५ गते अदालतमै उपस्थित भएर मिलापत्रमा सहमति भए। त्यस क्रममा सम्बन्धविच्छेदको आदेश जारी गरियो। मिलापत्रमा छोराको लालनपालन दुवैले गर्ने तर नुमा शर्माले कुनै अंश दाबी नगर्ने उल्लेख छ। यसरी हेर्दा, थापाले जेठी श्रीमती सुलोचना घिमिरेसँग वैवाहिक सम्बन्ध कायम रहँदै कान्छी नुमा शर्मासँग दोस्रो विवाह गरेको पुष्टि हुन्छ।

यो कानुनी दृष्टिले अपराध र सामाजिक दृष्टिले नैतिक पतनको नमुना हो। थापाले आफ्नो युट्युब च्यानल सुपर थापा फ्यामिली मार्फत पाँच वर्षअघि सार्वजनिक गरेको भिडियोमा पनि दुवै श्रीमती सँग बसेको देखिन्छ। सो भिडिओमा निर्देशक थापा स्वयं, प्रोडक्सन डिजाइनर सुलोचना र लेखक नुमा रहेको उल्लेख छ। यसले उनीहरू लामो समयसम्म एउटै परिवारका रूपमा बसेको प्रष्ट हुन्छ।

समाचार सार्वजनिक भएपछि उनले उक्त भिडियो र सामाजिक सञ्जाल अकाउन्ट प्राइभेट बनाएर सार्वजनिक पहुँच बन्द गरेका छन्। यद्यपी, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले थापाले दुई विवाह गरेको भए पनि पहिलो पत्नी सँग सम्बन्धविच्छेदपछि मात्र दोस्रो विवाह भएको दाबी गरेका थिए। तर अदालतको कागजातले त्यो दाबी खण्डन गरेको छ।

रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। त्यही निर्वाचनका लागि उम्मेदवार बनेका थापामाथि उठेको यो प्रकरणले रास्वपाको उम्मेदवारी नै गम्भीर संकटमा पार्ने देखिएको छ।

यस्तो छ लेखजंगको फेसवुक स्ट्याटस
रूपन्देही– ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।

खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरूलाई उत्तर दिँदैछु।

प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म माथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।

आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू, एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।

मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ। एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो।

न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्र्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन, तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न।

म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन। यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ। कसले भन्यो रूपन्देही –३ को उम्मेदवार म हो भनेर? रुपन्देही –३ को उम्मेदवार त पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ, यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट