ठगीदेखि सम्पत्ति शुद्धीकरणसम्मको आरोपमा घेरिइन् टिकटकर तुल्सा अधिकारीः विदेशबाटै टिकटकमा प्रतिवाद

राजविराज– सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालिका तुल्सी अधिकारीमाथि विभिन्न गम्भीर आरोपमा राज्यका निकायले अनुसन्धान सुरु गरेपछि यो प्रकरण अहिले सामाजिक सञ्चालमा ब्यापक चर्चामा छ।

जिल्ला प्रहरी परिसर ललितपुरले जारी गरेको आधिकारिक सूचनाअनुसार उनीमाथि ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा एकैसाथ अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार उक्त अनुसन्धान प्रक्रियाले सामाजिक सञ्जालबाट सुरु भएको लोकप्रियता र वित्तीय कारोबारबीचको सम्बन्धमाथि समेत प्रश्न उठाएको छ।

प्रहरी विवरणअनुसार, साउन २२ गते कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी र तुल्सी अधिकारीसहित प्रतिवादी रहने गरी ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। सोही जाहेरीपछि उक्त घटनाको अनुसन्धान प्रक्रिया सुरु भएको र अहिले पनि निरन्तर जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

यसैबीच, सम्पत्ति शुद्धीकरणको कोणबाट पनि अनुसन्धान अघि बढेको प्रहरीले पुष्टि गरेको छ। कात्तिक २० गते पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्न सुझावसहित पत्राचार गरेको थियो। विभागमा फागुन १९ गते तुल्सी अधिकारी नामक व्यक्तिविरुद्ध उजुरी दर्ता भएको देखिएको र उजुरीमा उल्लेखित नागरिकता विवरण तथा ठेगाना अधिकारीसँग मेल खाएको प्रहरीको भनाइ छ।

त्यसपछि सम्बन्धित उजुरी र कागजात संलग्न राख्दै थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ। प्रहरीले जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरको अनुसन्धान गर्दा सम्बद्ध कसूरबाट प्राप्त भएको सम्पत्तिको रुपान्तरण, हस्तान्तरण तथा ऐनको दफा ३ उपदफा (१) का खण्ड (क), (ख) र (ग) ले निषेध गरेका गतिविधिहरूको विश्लेषण गरिने उल्लेख गरिएको छ।

त्यसका लागि आवश्यक तथ्यपरक आधार र प्रमाण संकलन गर्ने काम भइरहेको पनि प्रहरीले जनाएको छ। हाल तुल्सी अधिकारी विदेशमा रहेको जानकारी प्रहरीले दिएको छ। यद्यपि, उनी सामाजिक सञ्जालमार्फत सक्रिय रहँदै अनुसन्धानसँग सम्बन्धित विषयमा प्रतिक्रिया दिइरहेको र त्यसक्रममा भ्रामक सूचना फैलिएको आरोप प्रहरीको छ।

प्रहरीले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो वा सूचना प्रसारण नगर्न पनि सचेत गराएको छ। यस्तो गतिविधि पुनः अनुसन्धानको विषय बन्न सक्ने भन्दै जिम्मेवार सार्वजनिक व्यवहार अपनाउन प्रहरीले अनुरोध गरेको छ।

यस प्रकरणले सामाजिक सञ्जालमार्फत स्थापित ब्ययक्ति र उनिहरुसँग जोडिएका वित्तीय गतिविधिहरूको पारदर्शितामाथि बहस सुरु गराएको छ। अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी भए पनि राज्यका कानुनी निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक हेरिरहेको स्पष्ट संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट