सांसद अमरबहादुर थापाद्वारा संसदमा बजेट पुस्तिका च्यात्दै कडा विरोध, रास्वपा र राप्रपाको नाराबाजी

काठमाडौँ— नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट जनतामुखी नभएको भन्दै बिहीबारको संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन्। उनले बजेट ‘उल्टो बाटोबाट हिँडेको’ भन्दै संसदभित्रै आक्रोश पोखेका हुन्।
सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ल्याएको बजेटले दैलेखलगायत धेरै ठाउँका जनतालाई बेवास्ता गरेको आरोप लगाए। उनले बजेट नेतामुखी र मन्त्रीमुखी भएको भन्दै असन्तुष्टि जनाए।
‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी छैन। एकाधिकार कायम गर्ने गरी ल्याइएको छ। यस्तो बजेटको किताब मलाई मन परेन। त्यसैले संसदभित्रै च्यात्ने अनुमति मागेर च्यातेको हुँ,’ सांसद थापाले भने।
यता, बिहीबारको बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले उठेर विरोध जनाए। आकस्मिक समय माग गरेपछि सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्न दिएका थिए।
सांसद ढकालले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। बैठकको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले सभामुखको आसन घेराउ गर्दै नाराबाजी गरे भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरे।
सरकार र विपक्षी दलबीच सहमति नजुटेका कारण बिहीबारको संसद बैठक तनावपूर्ण बनेको थियो।