पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि घुस प्रकरणमा मुछिईन, गुप्तासँग मिलेर कर्मचारी व्यवस्थापन प्रयास गरेको अख्तियारको दाबी

राजधानी– सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताको घुस अडियो प्रकरणले अब पूर्व भूमि व्यवस्था मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको समेतलाई तानेको छ।
घुस दिनेको भनाइ, रेकर्ड तथा म्यासेज संवादका आधारमा श्रेष्ठले रकम मागेको र राजीनामा दिएका मन्त्री गुप्ताको सहयोगमा कर्मचारी व्यवस्थापनमा समेत संलग्न भएको प्रमाण अख्तियार स्रोतले पुष्टि गरेको छ।
पोखराका एक व्यक्तिको रेकर्डका कारण यो प्रकरण सार्वजनिक भएको थियो। सोही व्यक्तिसँग बारम्बार सम्पर्क गर्दै रञ्जिता श्रेष्ठले पनि रकम मागेको प्रमाण फेला परेको अख्तियार स्रोतको दाबी छ। अनलाइनखबरले प्रकाशित गरेको समाचार अनुसार श्रेष्ठले ९८५१२…५४ नम्बरको फोनबाट ती व्यक्तिसँग पटकपटक सम्पर्क गरेकी थिइन् ।
एउटा म्यासेजमा उनले लेखेकी थिइन् – ‘…जी, पशुपति पुजामा छु, क्यास चाहिएको छ, अलि ड्राइभरलाई लिन पठाइदिउँ ?’ यसरी म्यासेजबाट पैसा माग्नुका साथै आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) मार्फत पनि उनले सोही व्यक्तिसँग सम्पर्क गरेको प्रमाण फेला परेको स्रोतको दाबी छ।
पूर्वमन्त्री श्रेष्ठले पोखराको बाटुलेचौर लिचीबारी क्षेत्रको जग्गा दर्ताका लागि मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै राख्न चाहेको पनि खुलासा भएको छ। तर, अधिकारीको लमजुङमा सरुवा भएको थियो। आफू मन्त्री पदबाट मुक्त भइसकेपछि पनि उनले तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको सहयोगमा अधिकारीलाई पुनः पोखरा लैजान खोजेको खुलासा भएको हो।
त्यसै क्रममा पोखराका ती व्यक्तिले जग्गा छुटदर्ताका लागि प्रयास गरिरहेका थिए, जसमा मन्त्री श्रेष्ठ र अधिकृत अधिकारी दुवैसँग उनको सम्पर्क थियो। यही क्रममा श्रेष्ठले नियमित रूपमा सूचनाहरू आदानप्रदान गर्दै पैसा मागेकी थिइन्।
पूर्वमन्त्री श्रेष्ठले बारम्बार ‘गुप्तासँग मिटिङमा छु’, ‘मन्त्रीले कल गर्दै हुनुहुन्छ’ जस्ता म्यासेज पठाएकी छन्। अर्काे म्यासेजमा उनले लेखेकी छन् – ‘नरिवलको तेल एउटा लिन पठाइदिनुस् न, मन्त्रीज्यूलाई चाहियो।’
यो सबै संवादमा उनले गुप्तासँग नजिकको सम्बन्ध रहेको संकेत मिल्छ। त्यस्तै, गुप्ताका पीएसओले समेत ती व्यक्तिसँग म्यासेजमा ‘पैसाको कुरा कहिले हुन्छ ?’ भनेर सोधेको प्रमाण पनि भेटिएको स्रोत बताउँछ ।
यता पूर्वमन्त्री श्रेष्ठले भने यी सबै आरोपलाई अस्वीकार गरेकी छन्। पत्रकारसँगको कुराकानीमा उनले पोखराका ती व्यक्तिसँग कहिल्यै पनि सम्पर्क नगरेको दाबी गर्दै भनेकी छिन्–‘चिन्दै नचिनेको मान्छेसँग पैसा माग्ने कुरै हुँदैन।’
उनले मन्त्री गुप्तासँग आफ्ना निर्वाचन क्षेत्रका कर्मचारी व्यवस्थापनको विषयमा कहिलेकाहीँ मात्र कुराकानी हुने गरेको बताइन्। पोखराको जग्गा प्रकरण र ती व्यक्तिसँग सम्बन्धबारे आफू पूर्ण अनविज्ञ रहेको उनको जिकिर छ।
अख्तियार स्रोतले यो प्रकरणमा संलग्न अरू पक्षहरूको पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्रोतका अनुसार, गुप्तासँगको अडियो संवाद, मालपोत कर्मचारीको व्यवस्थापन प्रयास र पूर्वमन्त्री श्रेष्ठको रकम मागेजस्ता गतिविधि क्रमबद्ध ढंगले जोडिएका छन्।
‘खोज्दै जाँदा तेस्रो पात्रका रूपमा श्रेष्ठको नाम खुलेको हो। यो प्रकरण अब केवल एक मन्त्री वा एक व्यक्तिमा सीमित छैन। सरकारभित्रकै सञ्जाल देखिने खालको बनिसकेको छ।’– ,” स्रोतको भनाइ छ।
राजीनामा दिएका मन्त्री गुप्ताको घुस प्रकरणले सत्ता–प्रशासनभित्रको गहिरो चलखेल उजागर गरिरहेको छ। अब पूर्वमन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिँदै जाँदा, मुद्दा सिङ्गो प्रणालीको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने दिशातर्फ अघि बढेको जानकारहरु बताउँछन्।