सरकारसँग सिमित मात्रै छ क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपः ९ हजारका लागि मात्रै

काठमाडौं– सरकारले सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’का खोप लगाउने अभियान सुरु गरेको छ।
उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो। उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ। खोप अभियान ३० भदौसम्म सञ्चालन हुनेछ।
यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। आज पहिलो मात्रा लगाएकालाई ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ‘एचपीभी’का खोप अभियानको उद्घाटन गर्दै सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी गराए।
‘यो खोप ७७ जिल्लाका सबै महिला, किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीले यो खोप पाउनुपर्ने हुन्छ। त्यसका लागि मन्त्रालय प्रतिबद्ध छ’, उनले भने।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपको मात्र कम भए पनि यसको समानुपातिक वितरण हुने जानकारी दिए। मन्त्रालयकी अर्का सचिव देवकुमारी गुरागाईंले विश्व स्वास्थ्य संगठनमा गरेको प्रतिबद्धताअनुसार रोगको उन्मूलनका लागि पनि खोप अपरिहार्य भएको बताइन्। उनले हाल २० हजार खोप रहेकाले ९ हजार जनालाई मात्र पुग्ने उनको भनाइ छ।