कक्षा ९ मा अध्ययनरत बालकलाई प्रअसहित तीन जनाले ढोका थुनेर निर्धाट कुटे

राजविराज– सिरहाको एउटा विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकलाई प्रधानाध्यापकसहित ३ जनाले ढोका थुनेर निर्घात कुटपिट गरेका छन्।

सिरहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समीर राइनलाई प्रअ जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कुटपिट गरेका हुन।

गत मंगलबार कक्षा कोठामा अध्ययन गरिरहेका बेला कार्यालय सहयोगी मण्डलले बोलाएर उनलाई स्टाफ कोठामा लगेका थिए। त्यहाँ लगेपछि तीनै जनाले कोठा थुनेर एक घण्टासम्म निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

लात्ती, पाइप, मुक्काले हिर्काएको उनले वताए। विद्यालय छुट्टी भएपछि मात्र आफूलाई गेटमा घाइते अवस्थामा ल्याएर छोडिदिएको उनको भनाई छ। उनको अनुहार, टाउको, पिठ्युँ, छाती, खुट्टा लगायतका शरीरका विभिन्न भागमा निलडाम छ।

कुटपिटका कारण ज्वरो आउने तथा शरीर दुखेर सहन नसक्ने भएपछि उनलाई राति नै सिरहास्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। अहिले पनि टाउको दुखिरहेको उनले वताए।

यसअघि प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीहरूले सरुवाको विरोध गरेको र विद्यालयको मातहतमा रहेको सारस्वरनाथ गुद्री हटियाको ठेक्काको विषयमा पनि उनले प्रश्न उठाएका थिए ।

प्रधानाध्यापक जयचन्द्र यादवले भने समीरले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेको दाबी गरेका छन् । सोहीकारण सामान्य सजाय दिएको उनको भनाई छ।

समीरका बुबा मो. अकबर मियाले प्रधानाध्यापक जयचन्द्र, लेखापाल जितेन्द्र र कार्याल्य सहयोगी जयनारायणलाई कारबाहीको माग गर्दै भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएको बताएका छन् ।

सिरहाका एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे जानकारी आएको तर जाहेरी नआएको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट